चेपाङ बस्तीको स्वास्थ्य चौकीलाई औषधि सहयोग

November 6, 2024 5:59 pm

रत्ननगर । इच्छाकामना गाउँपालिका वडा नं १ भाराङमा रहेको स्वास्थ्य चौकीलाई औषधि प्रदान गरिएको छ । सपना भिलेज सोसल इम्प्याक्टले सीमान्तकृत चेपाङ सहित स्थानीय अन्य विरामीहरुलाई निःशुल्क प्रदान गर्ने गरी सोही वडामा रहेको सामुदायिक स्वास्थ्य इकाइमा औपाधि प्रदान गरिएको सपना भिलेजका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए । गाउँपालिकाको स्वास्थ्य शाखाले औषधिको विवरण सहित पठाएको अनुरोध पत्रलाई आत्मसाथ गरी लक्षित बर्ग विरामी हुँदा निःशुल्क प्रदान गर्ने गरी १ लाख २४ हजार ११५ रुपैयाको औषधि स्वास्थ्य इकाईलाई हस्तान्तरण गरेको गिरीले बताए ।

सपना भिलेलले स्थानीय आवश्यकताको आधारमा ३१ प्रकारका औषधिहरु प्रदान गरेको छ । स्थानीय सरकारको स्वास्थ्य शाखाबाट औषधिको विबरण सहित आग्रह पत्र आएपछि गुणस्तरीय औषधि खरिद गरी सामुदायिक स्वास्थ्य इकाइलाई प्रदान गरिएको हो । सपना भिलेजले इच्छाकामना वडा नं १ का चेपाङ समुदायको जीवन स्तर उकास्न आयआर्जन, पशुपालन, तरकारी खेती लगायत शिक्षा र स्वास्थ्यमा काम गरिरहेको छ । एकहस्ता अघि सोही वडाका ७०० बढी घरधुरीलाई सुधारिएको चुलो निःशुल्क वितरण गरेको सपना भिलेजले बुधबार त्यहाका चेपाङ समुदायलाई लक्षित गरी सामुदायिक स्वास्थ्य इकाइमा औषधि प्रदान गरेको हो ।

चुलो वितरण गर्न पुगेको सपना भिलेजको टोलीले बालबालिकाको पोष्टिक आहारको लागि सर्वोत्तम पीठो समेत वितरण गरेको थियो । हामीले चेपाङ समुदायको उत्थादनको लागि गाउँपालिकासंग मिलेर सबै क्षेत्रमा काम गरेका छौं सपना भिलेजका अध्यक्ष गिरीले भने युवा रोजगारी र होमस्टे सञ्चालनलाई समेत अगाडि बढाएका छौं ।