रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा पञ्चबर्षीय जलबायु कार्ययोजना निर्माणको लागि बुधबार कार्यशाला गरिएको छ । वन्यजन्तु संरक्षण संघ नेपालको सहकार्यमा नगरपालिकाले आयोजना गरेको सो कार्यक्रममा वन डढेलो नियन्त्रण, पानीको मुहान संरक्षण, खाद्यबालीमा रोगकीरा नियन्त्रण र बाढीको पूर्वतयारीमा केन्द्रीत भएर नगर स्तरीय कार्ययोजना निर्माण गरिने छ । कार्यक्रममा जनप्रतिनिधि, निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहा, सामुदायिक वनका प्रतिनिधि, निजी क्षेत्र, सुरक्षा निकायका प्रतिनिधिहरुको सहभागिता रहेको वन्यजन्तु संरक्षण संघ नेपाल चितवन शाखा प्रमुख रामचन्द्र पौडेलले जानकारी दिए । सहगागीहरुलाई तीन समुहमा विभाजग नगरी जलबायु परिर्वतनको असरले परेको समस्या पहिचना र सामधानका उपायहरुको खोजी गरिएको थियो ।
समुहगत छलफलका क्रममा आएका विषयहरुलाई कार्ययोजना निर्माणमा प्राथमिकताका साथ समावेश गरिने छ । कार्यक्रमको उद्घाटन गर्दै रत्ननगर नगरपालिकाका उपमेयर यादबप्रसाद पाठकले जलबायु परिर्वतनको असर न्यूनीकरणको लागि योजना आवश्यक रहेको बताए । हामीसंग स्रोतको कमी छैन उनले भने योजना अभावका कारण काम सुरु गर्न सकिएको छैन् । रत्ननगरले बार्षिक नीति तथा कार्यक्रममा जलबायु परिर्वतनको क्षेत्रमा काम गर्ने बजेट विनियोजन गरेको भन्दै उनले योजना बन्न नसक्दा काम हुन नसकेको बताए । योजना बनाउनुस उनले भने स्थानीय सरकार बजेट विनियोजन गरेर काम गर्न तयार छ । कार्यक्रममा वन्यजन्तु संरक्षण संघ नेपालकी निर्देशक संजिवनी योन्जनले जलबायु सम्बन्धी कार्ययोजना बनाएर नगरपालिकालाई हस्तान्तरण गर्ने गरी कार्यक्रम सूरु गरिएको बताइन् ।
रत्ननगर वडा नं ९ लाई आधार बनाएर गरिएको अध्ययानले रत्ननगरलाई जलबायु परिर्वतनको असरले समस्यामा परेको पाएपछि स्थानीय सरकारसंग मिलेर योजना निर्माणमा जुटेको उनको भनाई छ । कार्यक्रममा जलबायु परिर्वतन विज्ञ डा.नवीन भट्टराईले सहजीकरण गरेका थिए । उनले रत्ननगरमा जनबायु परिर्वतनले वन डढेलो, पानीको मुहान सुक्दै गएको, खाद्यबालीमा रोगकीरा प्रकोप र बाढीको जोखिम देखिएकाले उक्त चारवटै विषयमा केन्द्रीत भएर योजना निर्माण गर्ने बताए । रत्ननगर नगरपालिकाको वन, वाताबरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख विश्वास श्रेष्ठले सञ्चालन गरेको कार्यक्रम रत्ननगर वडा नं १२ का वडाध्यक्ष तथा वन, वाताबरण तथा विपद् व्यवस्थापन समितिका संयोजक सुन्दरमणि सुवेदी, नगर शिक्षा अधिकारी नारायणप्रसाद वाग्ले, चितवन निकुञ्ज सौराहा सेक्टर प्रमुख शान्तबहादुर मगर लगायतले मन्तव्य राखेका थिए । वन्यजन्तु संरक्षण संघ नेपालले गत बैशाखदेखि रत्ननगर वडा नं ९ मा हरित विद्यालय निर्माण, वन तथा बाताबरण संरक्षण र बृक्षारोपणको काम गरिरहेको कार्यक्रम संयोजक सुवासचन्द्र खरेलले जानकारी दिए ।