चितवन – भरतपुर-४ निवासी गजलकार विनोद अनुज द्वारिका नेपाल स्मृति पुरस्कारबाट पुरस्कृत भएका छन् । गजल मञ्च चितवनको नवौं अधिवेशनमा गजलकार अनुजलाई पुरस्कार अर्पण गरिएको हो ।
अधिवेशन उदघाटन समारोहका प्रमुख अतिथि गजल मञ्चका पूर्वअध्यक्ष प्रभाकर पण्डितले गजलकार अनुजलाई सम्मानपत्रसहित पुरस्कार अर्पण गरेका हुन् । गजल मञ्चको अध्यक्ष भइरहँदा २०७८ साल असोजमा दिवंगत भएका द्वारिका नेपालको स्मृतिमा सोही वर्ष गजल मञ्चले पुरस्कार स्थापना गरेको थियो ।
भरतपुर घर भई हाल अस्ट्रेलियामा रहेका भानु खरेलले पुरस्कार सौजन्य गरेका हुन् । पुरस्कारको राशी २५ हजार रूपैयाँ छ । पुरस्कृत स्रष्टा अनुजले कार्यक्रममा केही गजल सुनाएका थिए । उनले पुरस्कारको रकम भरतपुर ४ मा रहेको ज्ञानज्योति पुस्तकालयको भवन निर्माणका लागि हस्तान्तरण गरेका छन् ।
मञ्चका अध्यक्ष लेखराम सापकोटाको अध्यक्षतामा सम्पन्न अधिवेशन उदघाटन कार्यक्रममा प्रमुख अतिथि पण्डित, मञ्चका संस्थापक अध्यक्ष धनराज गिरी, कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।