चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले तिहारको समयमा बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न आग्रह गरेको छ । जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गरी देउसी भैलो, नाचगान लगायतका सांस्कृतिक क्रियाकलापहरु बेलुका ९ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्माद्वारा जारी सूचनामा उल्लेख छ । साथै, देउसी भैलो खेल्दा राजनीतिक विषय उठान गर्न नपाइने प्रशासनले जनाएको छ ।
कानून विपरित जुवातास, लङ्गुरबुर्जा खेल्ने/खेलाउने, भुईचम्पा, पटका र आतिसबाजी जस्ता विष्फोटक पदार्थहरुको आयात, ओसारपसार, बिक्री वितरण तथा प्रयोगलाई निषेध गरिएको छ । मादक पदार्थको सेवन गरी शान्ति सुरक्षा एवं सर्वसाधारणलाई असर पर्ने गरी सार्वजनिक स्थानमा हो–हल्ला गर्ने एवं झैझगडा गर्ने जस्ता कार्य नगर्न र भिडभाड तथा हुलहुज्जत जस्ता गतिविधि गरी समाजमा अशान्ति एवं अशोभनीय क्रियाकलाप नगर्न प्रशासनले भनेको छ ।
त्यसैगरी, अखाद्य रङ्ग मिलाइएका मिठाई, झिलिङ्गे रोटी जस्ता अस्वस्थ र गुणस्तरहीन खाद्य वस्तुहरुको बिक्री वितरण र उपभोग नगर्न र म्याद गुज्रेका भाईमसला, प्लाष्टिकजन्य फूलमाला लगायत कानूनले आयात र प्रयोग गर्न निषेध गरेका वस्तुहरुको प्रयोग र बिक्री वितरण नगर्न नगराउन सूचना जारी गरिएको सहायक प्रजिअ शर्माले बताए ।
तिहारको समयमा दियो, मैनवत्ती, पालहरु एवं विद्युतीय उपकरणहरु बाली दिपावली मनाउँदा आगलागी जस्ता विपद्का घटना घट्न सक्ने भएकोले यस्ता कार्यहरु गर्दा पुर्ण रुपमा सजगता अपनाउन आग्रह गरिएको उनले बताए । प्रशासनको सूचना विपरितको कार्य गरेको पाईएमा प्रचलित कानून बमोजिम कारवाही हुने प्रशासनले चेतावनी दिएको छ ।