रत्ननगर ९ को शुभकामना आदानप्रदान तथा सार्वजनिक सुनुवाई सम्पन्न

October 29, 2024 7:18 pm

१३ कार्तिक, रत्ननगर ।
रत्ननगर नगरपालिका ९ नम्बर वडा कार्यालयले आज शुभकामना आदान प्रदान तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा वडाध्यक्ष अनन्त अधिकारीले आर्थिक बर्ष २०८०/८१ मा वडाले सम्पन्न गरेको विकास निर्माण लगायत अन्य कामहरुको बारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी रत्ननगर नगरपालिका साविक ७ नम्बर संस्थापक वडाध्यक्ष तथा रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष माधव प्रसाद अर्यालले बिकास निर्माणको क्षेत्रमा सम्बन्धित सम्पूर्ण पक्षहरु जिम्वेवार भए मात्र लक्ष्य हासिल हुने बताउनुभयो । वडाले शिक्षा, स्वास्थ्य, सामाजिक क्रियाकलाप, वालवालिका तथा मानसिक स्वास्थ्य समन्वयमा महत्वपुर्ण भूमिका निर्वाह गरेको अर्यालको भनाई थियो । उंहाले भन्नुभयो “विकास निर्माणको काम अघि बढ्नु मात्र ठुलो कुरा होइन विकास निर्माण स्थानिय तथा सम्बन्धित पक्षको सकारात्मक परिवर्तन हुनु ठुलो कुरा हो ” ।

कार्यक्रमका सभाध्यक्ष रत्ननगर नगरपालिका ९ नम्बर वडा कार्यालयका अध्यक्ष अनन्त अधिकारीले विकास निर्माणको कार्यहरुमा स्थानियहरुको प्रसस्त साथ पाएको कारण योजनाहरुले पूर्णता पाएको बताउनुभएको थियो । सामाजिक कार्यमा वडा कार्यालय लागिरहने अधिकारीको भनाई थियो ।

कार्यक्रम अन्तर्गत सम्मान कार्यक्रम पनि राखिएको थियो । २०८१ को एसइइ परिक्षामा उत्कृष्ठ अंक हासिल गर्ने मोहना माध्यमिक विद्यालयकी छात्रा राज नन्दनी शाह र कपरफोरी माध्यमिक विद्यालयकी छात्रा ऋतु थिङ्क लागी जनही ५/५ हजार रुपैया सहित सम्मान-पत्रले सम्मान गरिएको थियो । त्यस्तै रत्ननगर नगरपालिका ९ मा रहेका टोल विकास संस्था मध्य बाट उत्कृष्ठ कार्य गरेको भन्दै नगद १० हजार रुपैया सहित सम्मान पत्रले सिसै टोल विकास संस्थालाई सम्मान गरिएको थियो । सिसै टोल विकासका अध्यक्ष रामु पौडेलले वडालाई राम्रो बनाउन थप विविध योजना सहित आफुहरु लागिपर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

कार्यक्रम अन्तर्गत नेकपा एमाले रत्ननगर ९ कमिटि अध्यक्ष लेखनाथ आचार्य, टिकौली मध्यवर्ती सामुदायिक बन उपभोक्ता समूहका उपाध्यक्ष टिकाराम आचार्य, नेकपा माओबादी रत्ननगर ९ का अध्यक्ष सिताराम घिमिरे, राप्रपा रत्ननगर ९ अध्यक्ष नारायण कार्की, रत्नाप्रिय युवा क्लवका अध्यक्ष बशन्त राना, ज्योतिर्मय सामुदायिक सिकाई केन्द्रकी अध्यक्ष शान्तिदेवी अधिकारी, उद्धमशील महिला समूह रत्ननगर ९ कि अध्यक्ष बिन्दु शर्मा, मोहना माबि टोल विकास संस्थाकी अध्यक्ष बिमला पौडेल, वडास्तरिय मेलमिलाप समिति संयोजक मणिप्रकाश खतिवडा, आधारभूत स्वास्थ्य केन्द्र रत्ननगर ९ का प्रमुख बिदुर बस्ताकोटी, कपरफोरी माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णु कट्टेल, मोहना माध्यमिक विद्यालयका प्रधानाध्यापक दयाराम ढकाल, नगर स्तरिय मेलमिलाप समिति संयोजक भुपेन्द्र अधिकारी लगायतले मन्तव्य राख्नुभएको थियो । वडा सदस्य सुस्मा खड्काथोकीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम वडा सचिव सुर्यप्रसाद ढुंगानाले संचालन गर्नुभएको थियो ।