स्काइराइडरमा कक्षा १२ मा उतीर्ण विद्यार्थीलाई पुरस्कार हस्तान्तरण

October 26, 2024 6:00 pm

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा रहेको स्काइराइडर आवासीय माविले कक्षा १२ को परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पुरस्कार तथा उर्तिण भएका विद्यार्थीलाई सम्मान साथै विदाई गरेको छ । शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गरी सर्वोत्कृष्ट अंक ल्याउने पुजग डल्लाकोटी र अनिस भट्ट, उत्कृष्ट अंक ल्याउने निभा श्रेष्ठ र राज अर्याललाई सम्मान सहित पुरस्कृत र उर्तिण भएका अन्य विद्यार्थीलाई सम्मान सहित विदाई गरिएको विद्यालयका प्राचार्य मदन पुरीले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि रत्ननगरका मेयर प्रलाद सापकोटा र प्राचार्य पुरीले डल्लाकोटी र भट्टलाई जनही नगद रु ३५ हजार तथा श्रेष्ठ र अर्याललाई जनही रु १० हजार पुरस्कार सहित सम्मान गरेका थिए । कक्षा १२ को परीक्षामा सो विद्यालयबाट ३३९ जना उतीर्ण भएका थिए । सो विद्यालयले सर्वोत्कृष्ट र उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सत प्रतिशत छात्रबृत्ती, ३ दशमलब ८ जीपीयबाट माथि अंक ल्याउने विद्यार्थीलाई ६ महिना र ३ दशमलब ५ जीपीए भन्दा माथि अंक ल्याउने विद्यार्थीलाई तीन महिनाको छात्राबृत्ती प्रदान गरिएको प्राचार्य पुरीले जानकारी दिए ।

कार्यक्रममा मेयर सापकोटाले स्थानीय सरकारले शिक्षालाई उच्च प्राथमिकता दिँदै बार्षिक रुपमा लगानी बढाउदै लगेको बताए । विपन्न समुदायका बालबालिकाहरुको पढ्न पाउने अधिकार सुनिश्चिताको लागि स्थानीय सरकार लागि परेको भन्दै उनले आर्थिक अभावकै कारण कोही पनि शिक्षाबाट बन्चित हुनुनपर्ने बताए । प्राचार्य मदन पुरीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं ३ का वडाध्यक्ष पोटबहादुर घिमिरे, शिक्षक अभिभावक संघका अध्यक्ष सरोजराज लामिछाने लगायतले मन्तव्य राखेका थिए ।

विद्यालयका सहायक प्राचार्य नारायणप्रसाद श्रेष्ठले स्वागत मन्तव्य राखेको सो कार्यक्रम शिक्षक नवराज तिमिल्सिनाले सञ्चालन गरेका थिए । २०४२ सालमा स्थापना भएको सो विद्यालयमा हाल ३ हजार ५०० विद्यार्थी अध्यायनरत छन् । स्काइराइडरमा कक्षा नर्सरी देखि १२ सम्म पढाई हुँदै आएको छ ।