बछौलीमा आयोजित स्वास्थ्य शिविरमा ४ सय १५ जनाको स्वास्थ्य परीक्षण

October 26, 2024 5:48 pm

रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं ७ बछौलीमा शनिबार आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ४ सय १५ जनाको उपचार गरिएको छ । ग्रिन सोसाइटी नेपाल र ग्रिन सोसाइटी पब्लिक स्कुलले सयुक्त रुपमा आयोजना गरिएको शिविरमा २२९ जनाको आँखाको उपचार सहित ४१५ जनाले स्वास्थ्य सेवा लिएको ग्रिन सोसाइटी नेपालका महासचिव शिरलाल परियारले जानकारी दिए । बाढी प्रभावित समुदाय र विपन्न समुदायको स्वास्थ्य रक्षाको लागि ग्रिन सोसाइटी नेपालको भवनमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको उनले जानकारी दिए ।

शिविरमा विशेषज्ञ डाक्टरहरुबाट आँखा, नाककान घाँटी, बाल रोग,छाला तथा जनरल फिनिसियन रोगको उपचार गरिएको थियो । शिविरमा उपचार गराएका विरामीहरुलाई निःशुल्क औषधि वितरण गरिएको थियो । गैंडा सामुदायिक पर्यटन सहकारी संस्था, चितवन मेडिकल कलेज,सौराहा समुदायिक पुस्तकालय,नेपाल नेत्रज्योति संघ भरतपुर आँखा अस्पतालको सहकार्यमा शिविर आयोजना गरिएको हो । ग्रिन सोसाइटी नेपालका महासचिव परियारले विदेशी नागरिकको सहयोगमा चितवनका सिमान्तकृत चेपाङ समुदायको शिक्षा र स्वास्थ्यको लागि शिविर र शैक्षिक सामग्री वितरण गर्दै आएको बताए । आर्थिक अभावका कारण उपचार र शिक्षाबाट बन्चित समुदायलाई निरन्तर सहयोग गर्दै आएको उनको भनाई छ ।