
रत्ननगर । चितवनको पहाडी क्षेत्रमा बसोबास गर्ने सीमान्तकृत चेपाङ समुदायलाई सामुदायिक होमस्टे सञ्चालन सम्बन्धी तालिम दिइएको छ । इच्छाकामना गाउँपालिकाको सहकार्यमा सपना भिलेज सोसल इम्प्याक्टले इच्छाकामना गाउँपालिका वडा नं २ घुर्केसका चेपाङ सहित विपन्न समुदायलाई होमस्टे सञ्चालन विधि, प्रक्रिया र व्यवस्थापन तालिम दिएको हो । निकट भविश्यमै सामुदायिक होटस्टे सञ्चालन गर्ने योजना सहित घुर्केसका २२ जना तालिममा सहभागी भएका थिए ।
एक दिने तालिममा सौराहामा लामो समय देखि पर्यटन व्यवसाय सञ्चालन गरिरहेका इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले सामुदायिक होमस्टे सञ्चालन विधि, प्रक्रिया र व्यवस्थापनका बारेमा सहजीकरण गरेका थिए । तालिममा होमस्टेमा निर्माणदेखि पाहुँनालाई गर्ने स्वागत, उनीहरुलाई प्रदान गर्ने सेवा सुविधा तथा स्थानीय उत्पादनको प्रयोगका बारेमा सिकाइएको अध्यक्ष गिरीले जानकारी दिए । सपना भिलेजले चेपाङ समुदायको जीवन स्तर उकास्न इच्छाकामनामा स्थानीय सरकारको सहयोगमा परियोजना सञ्चालन गरिएको छ । घुर्केस पछिल्लो समय चर्चामा रहेको मायाटार नजिकै रहेको चेपाङ बस्ती हो ।
मायाटारमा एउटा मात्र होमस्टे रहेको हुँदा बासबस्ने गरी गएका पर्यटकहरु फर्किनुपर्ने बाध्यकारी अबस्थालाई मध्यनजर गरी स्थानीय समुदायको अग्रसरतामा होमस्टे सञ्चालन गर्ने योजना सहित स्थानियलाई तालिम प्रदान गरिएको गिरीले बताए । अध्यक्ष गिरीले घुर्केसका स्थानीय समुदायले सञ्चालन गर्ने होमस्टे निर्माणमा सपना भिलेजले पनि सहयोग गर्ने बताए । सामुदायिक होमस्टे सञ्चालनको लागि स्थानीयलाई सहयोग गर्ने कामको सुरुवात तालिमबाटै भएको छ उनले भने अब सञ्चालन र व्यवस्थान सम्मको काममा सहयोग गर्ने छौं । होमस्टे सञ्चालन गरी चेपाङ सहित अन्य विपन्न समुदायको जीवन स्तर उकास्ने योजना रहेको उनले जानकारी दिए ।
स्थानीय सरकारसंग सहकार्य गरी काम गरिरहेको भन्दै अध्यक्ष गिरी होमस्टे निर्माण र सञ्चालनको लागि स्थानीय सरकार मार्फत सहयोग गर्ने योजना रहेको बताए । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले होमस्टेबाट स्थानीय समुदायको जीवन स्तर उकास्न योजना रहेको बताए । अनुभव र लगनशिलताले मात्र व्यवसाय सफल हुने भन्दै उनले होमस्टे सञ्चालनपूर्व आधारभूत ज्ञान आर्जन हुनुपर्नेमा जोड दिए ।