चितवन गोल्डकप गोल्डेन ईमिनेन्टले प्रायोजन गर्ने

August 15, 2024 8:30 pm

चितवन, साउन ३१।

दोस्रो चितवन गोल्डकप फुटबलको प्रायोजन गोल्डेन ईमिनेन्टले गर्ने भएको छ । भरतपुर फुटबल क्लब (बिएफसी) को आयोजनामा असोज ३ गतेदेखि १२ गते सम्म हुने प्रतियोगिताको ईमिनेन्टले मुख्य प्रायोजन गर्ने भएको हो । बिहीबार आयोजक बिएफसी का तर्फबाट संयोजक धुर्व भुसाल र गोल्डेन ईमिनेन्टका तर्फबाट प्रवन्ध निर्देशक प्रकाश रिजालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

१० टिमको सहभागी रहने प्रतियोगितामा ए डिभिजन लिग र नेपाल सुपर लिग एनएसएल खेल्ने टोलीहरु सहित फोसलका चर्चित क्लबहरु सहभागी हुने प्रतियोगिता संयोजक धुर्व भुसालले जानकारी दिए । नेपाल प्रहरी शिक्षालय (भरतपुर तालिमकेन्द्र) को मैदानमा हुने प्रतियोगिताको विजेताले ट्रफीसहित ६ लाख रुपैयाँ, उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । पहिलो चरणमा दर्शकका लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिने संयोजक भुसालले जानकारी दिए ।

क्लबका अध्यक्ष लाल सिंह गुरुङले पहिलो संस्करणको तुलनामा दोस्रो संस्करणलाई थप व्यवस्थित र भव्य बनाउने गरी तयारी थालिएको बताए । चितवन गोल्ड कपको मुख्य प्रायोजन गरेको गोल्डेन ईमिनेन्टका प्रबन्ध निर्देशक रिजालले प्रतियोगिताको सफलताको कामना गरे । गोल्डकपलाई मोफसलकै प्रतिष्ठित प्रतियोगिता बनाउन गोल्डेन ईमिनेन्ट जस्तो सुकै सहयोग गर्न तयार रहेको बताए । गोल्डेन ईमिनेन्टले दक्षिण कोरिया अध्ययनका लागि जाने विद्यार्थीहरुलाई परामर्श दिदै आएको छ ।

२०७९ भाद्र २५ देखि असोज ३ गतेसम्म क्याम्पाचौर नारायणगढमा भएको पहिलो संस्करणको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको थियो ।