क्यान्सर अस्पतालमा अत्याधुनिक लेजर मेसिनद्वारा युरोलोजी सर्जरी सेवा

August 9, 2024 6:22 pm

चितवन : वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अत्याधुनिक लेजर मेसिनद्वारा युरोलोजी सर्जरी सेवा शुभारम्भ भएको छ । मेसिन जडान गरेसँगै आज यो प्रविधिबाट तीन वटा शल्यक्रिया गरिएको हो । अत्याधुनिक थ्युलियम फाईबर लेजर (टिएफएल) मेसिनबाट शल्यक्रिया गर्दा बिरामीलाई धेरै फाईदा हुने अस्पतालका उपनिर्देशक एवं युरोलोजिष्ट डा. उमेश नेपालले बताउनुभयो । युरोलोजी सेवाको पछिल्लो प्रविधि (लेटेस्ट टेक्नोलोजी) भएकाले सेवाको समयसापेक्ष स्तरोन्नती हुने डा. नेपालको भनाई छ ।

यस अघि युरोलोजीमा प्रयोग हुने लेजरहरु जस्तैः होल्मियम लेजरको पल्स एमल्सन हुने हुनाले टिस्यु च्यातिने सम्भावना (टिस्यू टिएरिङ इफेक्ट) हुने भन्दै उहाँले टिएफएल निरन्तर बीममा निस्किने र टिस्यु च्यातिने नहुने बताउनुभयो । यो प्रविधिबाट शल्यक्रिया गर्दा रक्तश्राव अति नै न्यून हुने भन्दै डा. नेपालले भन्नुभयो “टिस्यु पेरेट्रेसन सबैभन्दा कम हुने हुनाले जोखिम दर अति नै न्यून हुन्छ ।”

यस अस्पतालमा प्रत्येक वर्ष ४५० हाराहारी पिसाब थैलीका क्यान्सर र एक सय हाराहारी प्रोस्टेट क्यान्सरको शल्यक्रिया हुने जानकारी दिंदै डा. नेपालले यस्ता बिरामीका लागि यो प्रविधि निकै लाभदायी हुने बताउनुभयो । उहाँले भन्नुभयो “एन ब्लक रिसेक्सन गर्न मिल्ने भएकाले पुनः शल्यक्रिया गर्नुपर्ने सम्भावना पनि न्यून हुन्छ ।” शल्यक्रिया गर्दा टिस्युहरु डढ्ने सम्भावना न्यून हुने भन्दै उहाँले बिरामीको घाउ छिटो निको हुने बताउनुभयो । यो प्रविधिबाट मुत्र प्रणालीका पिसाब थैली, प्रोस्टेट, पिसाब नली लगायतका अंगहरुको शल्यक्रिया गर्न सकिन्छ ।