रत्ननगर, साउन २३ ।
रत्ननगर नगरपालिका वडा नं ७ सिसुवारमा रहेकाे राेटरी नमुना मुसहर बस्तीका बालबालिकाहरुकाे स्वास्थ्य परीक्षण गरिएकाे छ । रोटरी क्लब अफ रत्ननगर, स्पाउस क्लब अफ रत्ननगर, राेट्याक्ट क्लब अफ रत्ननगरले संयुक्त रुपमा सीमान्तकृत मुसहर बालबालिकाकाे स्वास्थ्य रक्षाकाे लागि निःशुल्क स्वास्थ्य परीक्षण शिविर आयाेजना गरेका हुन ।
शिविरमा ५१ जना बालबालिकाे स्वास्थ्य परीक्षण गरि निःशुल्क औषधि समेत वितरण गरिएकाे राेटरी क्लव अफ रत्ननगरकी अध्यक्ष विरन्जना सापकाेटा घिमिरेले जानकारी दिइन् । बकुलहर रत्ननगर अस्पतालका विशेषज्ञ डाक्टरद्वारा गरिएको स्वास्थ्य परीक्षणका क्रममा बालबालिकाहरु कुपाेषण, छालाकाे राेग, ज्वराे, कानकाे समस्या, चिलाउने, लगायतका राेगले ग्रसित रहेकाे र उपचार गरिएकाे उनले जानकारी दिइन् । राेटरीले बालबालिकाकाे स्वास्थ्य परीक्षणसंगै तिनका अभिभावकलाई स्वास्थ्य सचेतना समेत दिएकाे छ । मुसहर समुदायलाई स्वास्थ्यकाे महत्व बुझाउँदै राेग लाग्नबाट बच्नुकाे उपायका बारेमा सहजीकरण गरिएकाे क्लवकी अध्यक्ष सापकाेटाले जानकारी दिइन् ।
राेटरीका डिस्ट्रिक गभर्नर हरिप्रसाद सुवेदी प्रमुख अतिथि रहेकाे साे कार्यक्रमा वडा नं ७ का वडा सदस्य सुर्यबहादुर तामाङ, स्पाउस क्लबकी अध्यक्ष राधिका तिमिल्सिना खनाल, राेट्याक्टका अध्यक्ष नविनजंग केसी सहित राेटरी क्लवका पदाधिकारी तथा सदस्यहरु, पूर्वअध्यक्षहरुकाे सहभागिता रहेकाे थियाे । क्लवकी अध्यक्ष सापकाेटाकाे अध्यक्षतामा कार्यक्रम भएकाे थियाे । राेटरी क्वल अफ रत्ननगरले यस अघि जिल्ला कारागारका कैदीबन्दीकाे स्वास्थ्य परीक्षण तथा स्वास्थ्य सचेतना कार्यक्रम गरेकाे थियाे । सामाजिक क्षेत्रमा क्रियाशिल साे संस्थाले सिसुवारका सीमान्तकृत मुसहर समुदायका लागि आवास निर्माण गरेकाे क्लबका पूर्व अध्यक्ष विपिन पाेखरेलले जानकारी दिए ।
