कपुरबोट मिडियाको “डिजिटल वक्तृत्वकला प्रतियोगिता”, प्रथम पुरस्कार १ लाख

July 31, 2024 7:27 pm

भरतपुर : कपुरबोट मिडियाको आयोजनामा “खुल्ला डिजिटल वक्तृत्वकला प्रतियोगिता” हुने भएको छ । आज भरतपुरमा भएको पत्रकार सम्मेलनमा मिडियाका अध्यक्ष सन्तोष देउजाले यो प्रतियोगिताको घोषणा गर्नुभएको हो । वक्तृत्वकलाको विषय आधुनिक भरतपुर निर्माणमा रेनु दाहालको भुमिका राखिएको छ । खुल्ला र डिजिटल प्रतिस्पर्धा भएकाले देश विदेश जुनसुकै स्थानमा हुने नेपाली नागरिक यसमा सहभागी हुन पाउनेछन् । कपुरबोट मिडिया प्रालिका अध्यक्ष देउजाका अनुसार प्रथम पुरस्कार नगद रु. १ लाख, द्वितिय पुरस्कार रु. ५० हजार, तृतीय पुरस्कार रु. २५ हजार र सान्तवना पुरस्कार रु. १० हजार प्रदान गरिनेछ । भाद्र १५ गतेसम्म भिडियो पठाईसक्नुपर्नेछ ।यो प्रतिस्पर्धामा सहभागी हुनका लागि विभिन्न सर्तहरु राखिएको छ ।उज्यालो स्थानमा माईकको प्रयोग अनिर्वाय र स्पष्ट देखिने भिडियो हुनुपर्नेछ ।भिडियो कम्तीमा ३ देखि बढिमा ७ मिनेटसम्मको हुनुपर्नेछ ।

विषयबस्तु केन्द्रित तथ्य परक हुनुपर्नेछ, गलत तथ्य तथ्यांक प्रयोग गर्न पाईने छैन ।भिडियोको गुणस्तर, भ्युज, विषयबस्तु र प्रस्तुतिका आधारमा मुल्यांकन गरिनेछ । यस प्रतियोगिताको निर्णायकमा वरिष्ठ चिकित्सक डा. भोजराज अधिकारी, पर्यटनविज्ञ डा. विश्व सुवेदी, शिक्षाविद रमाकान्त सापकोटा र अग्रज पत्रकार प्रकाशमणि ज्ञवाली रहनुभएको छ । भिडियोमा आएको समर्थन मतसँगै विषयबस्तु र उत्कृष्ट प्रस्तुति प्राथमिकतामा रहनेछन् ।जसको मुल्याकंन निर्णायकहरुले गर्ने देउजाले बताउनुभयो ।पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “वाक कला भएका संसारभरका क्षमतावानलाई रु १ लाखसम्म जित्ने यो सुवर्ण अवसर हो ।”

यी यस्ता विषयमा सञ्चारमाध्यमले आफ्नो प्लेटर्फममा बहस गरिरहेकै छन् ।तर नागरिक स्तरमा जनप्रतिनिधिलाई हेर्ने र कामको मुल्याकंन गर्ने दृष्टिकोण जान्नका लागि पनि यो प्रतियोगीता फलदायी हुने देउजाले बताउनुभयो ।भरतपुरको विकास र समृद्धिका लागि सबैले आआफ्नो स्थानबाट योगदान गरेको बताउँदै उहाँले रेनु दाहाल मेयर भएर आएपछिका निर्माण र जनतामा देखिएको विकासको अनुभुति स्पष्ट देखाउन खोजिएको उहाँको भनाई छ । तर यो प्रतियोगीतामा भरतपुर महानगरको सद्भाव बाहेक कुनै आर्थिक सहयोग प्राप्त नभएको उहाँले स्पष्ट पार्नुभयो । नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष एवं प्रतियोगिताका निर्णायक प्रकाशमणि ज्ञवालीले कालोपत्रे पुर्वाधार निर्माण मात्रै होइन भरतपुरको समृद्धिसँग यहाँको नेतृत्वलाई मुल्यांकन गर्नुपर्ने बताउनुभयो ।

यहाँको कालोपत्रे सडक मात्रै होइन, हरियाली, सरसफाई, फोहर व्यवस्थापन, नदि नियन्त्रण, कृषि र शिक्षामा आएका परिवर्तन पनि भरतपुर निर्माणको आधार भएको ज्ञवालीको तर्क थियो । सम्मेलनमा अग्रज पत्रकार बसन्त पराजुली, बविलाल तामाङ, कोमल भगत, सन्तकुमार चौधरी, राजु चौधरी, सुर्य अधिकारी लगायत चितवन नवलपुरका पत्रकारहरु उपस्थित थिए ।