सहकारीको क्षमता मापन अन्तर्गत ३ दिने कार्यशाला सम्पन्न

July 30, 2024 5:04 pm

रामु आचार्य ।
१५ श्रावण, नवलपुर ।
“कृषि उद्धममा महिलाको हात, उत्पादन र बजारीकरणमा सेवाको साथ” भन्ने मूल नारा सहित हेफर इन्टरनेशनल नेपालको साझेदारी र सामाजिक महिला उद्धमी सञ्जाल नेपालको आयोजनामा ३ दिने सहकारीको क्षमता मापन कार्यशाला सहजीकरण तालिमको आज एक समारोहका बीच समापन गरिएको छ । गण्डकी प्रदेश स्थित नवलपुर, गैंडाकोटमा संचालित उक्त तालिममा ६ प्रदेशका २८ जना स्थानिय श्रोत प्रदायकहरुको सहभागिता रहेको थियो । तालिममा सहभागी २८ जना प्रशिक्षकमा रुपान्तरित समेत भएका छन् । सो प्रशिक्षकहरुले देशभरिका २ सय ५० सहकारीहरुमा पुगी सहकारीको ७ क्षेत्रको २४ सूचकको बारेमा समिक्षा गराउदै सहकारीहरुको वास्तविक अवस्था माकुरो जालो विधिद्वारा प्रस्तुत गर्नेछन । कार्यक्रममा हेफर इन्टरनेशनल नेपालका कार्यक्रम प्रवन्धक बुद्धिराज तामांगको प्रमुख प्रशिक्षण रहेको थियो भने दिर्घमणि पोखरेल, कमल गौतम, गोपी पुडासैनी र दिनेश श्रेष्ठले सहजीकरण गर्नुभएको थियो ।

स्थानिय श्रोत प्रदायकहरुको क्षमता विकास गरी उनीहरु मार्फत सहकारीहरुको क्षमता मापन गरि आगामी दिनहरुको लागी सहकारीको भावी योजना निर्माण गर्न यो तालिम महत्वपुर्ण हुने सामाजिक महिला उद्धमी सञ्जाल नेपाल (सेवा नेपाल) की कार्यकारी निर्देशक विष्णु नेपालले बताउनुभयो । नव उत्पादित प्रशिक्षकहरुले सेवा नेपालको छाता संगठनहरुमा खम्बाको कार्य गर्ने उँहाको भनाई थियो ।

सोहि कार्यक्रममा सामाजिक महिला उद्धमी सञ्जाल नेपाल (सेवा नेपाल) को अध्यक्ष पार्वती न्यौपानेले देशभरिमा महिलाहरुद्वारा संचालित सहकारीहरुको सवलिकरण गर्नु कार्यक्रमको उद्धेश्य रहेको बताउनुभएको थियो । प्रशिक्षकहरुले सहकारीहरुको वास्तविक स्थान पत्ता लगाउने भएको हुँदा सो सहकारीहरुलाई मजबुत बनाउन पहल गर्न सजिलो हुने उँहाको तर्क थियो । सबै पक्षको सहकारी प्रति हेर्ने दृष्टिकोण फरक बनाउन बोलीलाई व्यवहारमा उतार्न महिलाहरुद्वारा संचालित सहकारीहरु नचुक्ने भन्दै अध्यक्ष न्यौपानेले आफु आफ्नै लागी भएको कारण सहकारीहरुको संस्थागत विकास गर्दै अन्तराष्ट्रिय बजार सम्म पुग्ने बताउनुभयो । सामाजिक पुंजी निर्माणका लागी यसका १२ आधारशिलाहरु “उपहार प्रदान, उत्तरदायित्व, बाँडीचुँडी उपभोग र स्याहार, दिगोपन र आत्मनिर्भर, पशु तथा श्रोत उचित व्यवस्थापन, पोषण, स्वास्थ्य र आय आर्जन, लैंगिक र परिवार केन्द्र बिन्दु, वास्तविक आवस्यकता र न्याय, वातावरण सुधार, पूर्ण सहभागिता, तालिम शिक्षा र संचार र आध्यात्मिकता” भित्र रहेर काम गर्ने अध्यक्ष न्यौपानेको भनाई थियो ।

समापन कार्यक्रममा हेफर इन्टरनेशनल नेपालका कार्यक्रम प्रवन्धक(सहकारी विकास) बुद्धिराज तामांगको प्रमुख आतिथ्यता रहेको थियो भने हेफर इन्टरनेशनल नेपालकाकार्यक्रम अधिकृत विष्णु कंडेल विशिष्ठ अतिथी रहनुभएको थियो, कार्यक्रम सामाजिक महिला उद्धमी सञ्जाल नेपाल (सेवा नेपाल) को अध्यक्ष पार्वती न्यौपानेको अध्यक्षतामा भएको थियो ।