भरतपुरमा नियमित बजार अनुगमनलाई निरन्तरता

July 29, 2024 6:31 pm

चितवन : आर्थिक वर्ष २०८१ ०८२ सुरु भएसगैँ भरतपुर महानगरपालिकाले दैनिक नियमित बजार अनुगमनलाई निरन्तरता दिएको छ । दैनिक उपभोग्य वस्तुको बिक्री वितरणमा उपभोक्ताहरुमाथि ठगी भइरहेको भन्दै भरतपुर महानगरपालिकाले बजार अनुगमन कार्यलाई तीव्र बनाएको छ । बजारमा हुने कालो बजारी, राजश्व छली, म्याद गुज्रिएका दैनिक उपभोग्य बस्तुहरु माथीको अनुगमन तथा निरीक्षण कार्यलाइ भरतपुर महानगरपालिकाले तीव्रताका साथ अगाडी बढाएको महानगर उपप्रमुख प्रेस सल्लाहकार आशिष अधिकारीले जानकारी दिए । अनुगमनको टोलीले म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा बिना इजाजत व्यवसाय सञ्चालन गरिरहेका माथी कडाइ सुरु गरेको छ ।

उपभोक्ता अधिकारकर्मीहरुले दैनिक बजार अनुगमन प्रभावकारी रुपमा गर्न नसक्दा अखाद्य वस्तुहरु उपभोक्ताको चुल्होसम्म पुग्ने अवस्था रहेको भन्दै बजार अनुगमनलाई थप प्रभाकारी बनाएर लैजानु पर्नेमा जोड दिदै आइरहेका छन् । स्वयं उपभोक्ता सचेत नभए सम्म बजार अनुगमनले मात्रै बजार आमउपभोक्ताले चाहे जस्तो सुधार गर्न नसकिने विज्ञहरु बताउँछन् । भरतपुर महानगरपालिकाको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिले आज सोमबार भरतपुरका विभिन्न वडाहरुमा स्वच्छ बजार अनुगमन गरेको छ । समितिले भरतपुरका दुध डेरी, मासु पसल, किराना पसल लगायतका १५ भन्दा बढी पसलहरुमा अनुगमन गरेको छ । अनुगमनमा फेला परेका अखाद्य वस्तुहरुलाई विज्ञ र स्वयं पसलेहरुको रोहवरमा जहाको त्यहि नष्ट समेत गरिएको छ । अनुगमनका क्रममा अखाद्य प्रमाणीत भएको चुक अमिलो, क्यान जुस, दुध, दही, घ्यु,पनिर, सुर्तीजन्य पदार्थहरुमा हेलचक्राइ गरेको पाइएकोले निर्धारित मापदण्ड पुरा गरेर सन्चालन गर्न निर्देशन दिइएको छ ।

महानगरको कृषि तथा पशुपक्षी व्यवसाय प्रवर्द्धन शाखा प्रमुख डा श्यामराज देवकोटाले भने, व्यवसायीहरुलाइ मापदण्ड अनुसार आफ्नो व्यापार सञ्चाललन गर्न, मुल्य सूची कायम राख्न, नाप तौलमा एकरुपता ल्याउन, विल भर्पाइलाई छरितो बनाउन, चाडपर्वको बेलामा दैनिक उपभोग्य वस्तुहरुमा कालो बजारी नगर्नका लागि सजग गराइएको छ । त्यस्तै भरतपुर ४ पिपलचोकमा रहेको नारायणी केमिकल सप्लायर्सले जथाभावी रुपमा केमिकल तथा केमिकल जन्य वस्तुहरुको बिक्री वितरण गर्नुका साथै डेगु फैलिन सक्ने गरि केमिकलका ड्र्महरु राखेकोले सचेत रहन निर्देशन दिइएको छ ।

सयुक्त बजार अनुगमन कार्य भरतपुर महानगर अन्तर्गतको उपभोक्ता हित सरक्षण शाखा तथा शासकीय सुधार इकाइको दैनिक बजार अनुगमन कार्य मै पर्दछ ।
पछिल्लो पटक बजारमा कालो बजारी बढेको,म्याद नाघेका वस्तुहरुको खुलेआम बिक्रीवितरण भइरहेको, केही पसलहरु विना दर्ता सञ्चालनमा आएका, कुनै कुनै पसलहरु नवीकरण नगरिकन सञ्चालित भएका लगाएतका जनगुनासोहरु व्यापक आएको हुँदा हामीले बजार अनुगमनलाइ पुन निरन्तरता दिएका हौ भरतपुर महानगरको उपभोक्ता हित सरक्षण शाखा तथा शासकीय सुधार इकाइ शाखाका शाखा अधिकृत ठानेश्वर सापकोटाले भने, बजार अनुगमनमा हामी मात्रै छैनौ उनले भने । हामीसगँ जिल्ला प्रशासन कार्यलय चितवन ,जिल्ला प्रहरी कार्यलय चितवन ,उधोग वाणिज्य सघ चितवन, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यलय चितवन, उपभोक्ता अधिकार सरक्षण मञ्च, महानगरको कृषि ,पशुपक्षी र मत्स्य शाखाका प्रतिनिधिहरु, पत्रकार, नगर प्रहरी लगाएत सरकारी तथ गैरसरकारी कार्यलयका प्रतिनिधिहरुको साथ र सहयोग छ ।

अनुगमनमा समितिका सदस्य गोपाल दराइ, विष्णु भुजेल, महानगर उपप्रमुख प्रेस सल्लाहकार आशिष अधिकारी, पशु चिकित्सक तथा मत्स्य विज्ञहरु, पत्रकार, नगर प्रहरी लगाएतको उपस्थिति रहेको थियो। बजार अनुगमनमा गएको टोलिले बजार अनुगमनलाई औपचारिक भन्दा पनि प्रभाकारी बनाएर जाने निर्णय गरेको छ । उपभोक्ता संरक्षण एेन २०७५ को दफा २८ तथा ६४ ले स्थानीय निकायलाइ बजार अनुगमन गर्ने अनुमती प्रदान गरेको छ ।