रत्ननगरमा किताब बेच्दै महाविर पुन : नगरपालिका र उवासंघद्वारा स्वागत

July 28, 2024 7:42 pm

रत्ननगर,साउन १३ ।

वीरगञ्ज कृषि औजार कारखाना सञ्चालन गर्न डा.महावीर पुन पुस्तक बिक्री गर्ने क्रममा चितवनको रत्ननगर आइपुगेका छन् । डा. महावीर पुनको जीवन कथामा आधारित पुस्तक बिक्री गर्न उनी रत्ननगर आइपुगेका हुन् । आइतबार रत्ननगर नगरपालिका र रत्ननगर उद्योग वाणिज्य संघले पुनलाई स्वागत गर्दै किताबसमेत खरिद गरेको छ । नगरपालिका र उवासंघले छुट्टाछुट्टै कार्यक्रम गरेर पुनलाई स्वागत गरेको हो ।

नगरपालिकाको कार्यालयमा भएको स्वागत कार्यक्रममा बोल्दै मेयर सापकोटाले महावीर पुनले वीरगञ्ज कृषि औजार कारखाना सञ्चालन गर्नको लागि गरेको प्रयासको प्रसंसा गरे । कारखाना संचालन गर्न किताब बेचेर आर्थिक संकलन गरिरहेका पुनलाई किताब किनेर सहयोग गर्न सबैलाई अनुरोध गरे ।

त्यसै उवासंघमा आयोजित कार्यक्रममा बोल्दै संघका अध्यक्ष शंकर गिरीले पुनको अभियानमा सहयोगीको भूमिका निभाउन पाएको भन्दै खुसी व्यक्त गरे । साथै, संघमार्फत खरिद गरिने औजार र संघमा आवद्ध व्यवसायीले औजार कारखानाबाट उत्पादित सामग्री खरिद बिक्री गर्न व्यवसायीलाई गिरीले आग्रह गरे ।

कार्यक्रममा पुनले कृषि औजार कारखानाबाट सस्तोमा औजारहरु बजारमा पठाउने र त्यसको खरिद एवं उपयोगको लागि विशेष भूमिका व्यवसायीहरुको भएको बताए । उनले आफ्नो किताबमार्फत युवाहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्ने बताए ।

पुनले स्वागत तथा सम्मानजस्ता कार्यक्रममा प्रयोग गरिने उपहार तथा पुरस्कारमा आफ्नो किताब प्रयोग गरेर राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्न व्यवसायीहरुलाई आग्रह गरे । त्यस्तै, कृषि औजार कारखाना सञ्चालन गर्न तीन लाख पुस्तक बिक्री गर्ने लक्ष राखेर मेची–महाकाली महाअभियान सञ्चालनका क्रममा करिब १ लाख १५ हजार पुस्तक बिक्री भइसकेको उनले जानकारी दिए ।