कालिकाको धार्मिक वनमा वृक्षारोपण

July 25, 2024 7:37 pm

रत्ननगर, साउन १० । चितवनको कालिका नगरपालिका वडा नं. ८ मा रहेको हिस्य कक्यु बौद्ध गुम्वा धार्मिक वनमा वृक्षारोपण गरिएको छ । धार्मिक वनको सौन्दर्य बढाउने उद्धेश्यले हिस्य कक्यु बौद्ध गुम्वा व्यवस्थापन समितिले बिहीवार वृक्षारोपण गरेको हो ।

धार्मिक वनका अध्यक्ष जित वहादुर सिंतानका अनुसार वन क्षेत्र भित्र अशोक, म्याङ्गो स्टिक, गोलमोल, धुपी, टाँकी, अम्बा, सुपारी, लिच्चि, आँप लगाएत फलफुलको बिरुवा रोपिएको छ । कालिकाका नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, डिभिजन वन कार्यालयका अधिकृत, वनका सदस्यहरुको उपस्थितिमा वृक्षारोपण गरिएको उनले जानकारी दिए । वृक्षारोपण कार्यक्रमले धार्मिक वनमा रूखको सङ्ख्यामा स्वाभाविक वृद्धि हुनुका साथै त्यहाँ रहेका लोपन्मुख प्रजातिका वनस्पति तथा जीवजन्तुको संरक्षण तथा संवर्द्धनमा पनि सकारात्मक प्रभाव पर्ने उनको भनाइ छ ।

उद्धघाटन कार्यक्रममा बोल्दै नगर प्रमुख विनोद रेग्मीले वृक्षारोपण मात्रै नभई रोपिएका विरुवालाई संरक्षण गर्न पनि उतिकै आवश्यक भएकोले सबैलाई संरक्षणमा लाग्न आग्रह गरे । वृक्षारोपणले थप हरियाली बढने उनले बताए । धार्मिक वनलाई नगरले व्यवस्थित गर्दै लैजाने प्रतिवद्धता समेत उनले जनाए । वन र पर्यावरण, वन र हावापानी, वन र मानव स्वास्थ्य बिचको सम्बन्ध र वनको महत्वलाई बुझेर यसको संरक्षणमा लाग्नुपर्ने नगर प्रमुख रेग्मीको भनाई थियो ।

धार्मिक वनका अध्यक्ष सिंतानको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा डिभिजन वन कार्यालयका अधिकृत, विभिन्न सामुदायिक वनहरुका अध्यक्ष तथा प्रतिनिधि, वन उपभोक्ता समितिका सदस्यहरुको सहभागिता रहेको थियो । हिस्य कक्यु बौद्ध गुम्वा व्यवस्थापन समितिका सह सचिव इन्द्र वहादुर सिंतानले कार्यक्रम सञ्चालन गरेका थिए ।