शिवशिखर रत्ननगरका साना बचतकर्तालाई मार्टको सामान लिइ दाबी मिलान गर्न आह्वान

July 18, 2024 3:49 pm

रत्ननगर, साउन ३ ।

समस्याग्रस्त शिवशिखर बहुउदेश्यीय सहकारी संस्था रत्ननगर शाखाका साना बचतकर्तालाई गार्डेन मार्टको सामान लिएर बचतको दाबी मिलान गर्न दिइने भएको छ । दाबी मिलानका लागि रत्ननगर नगरपालिकाले आवेदन आह्वान गरेको छ । नगरपालिकाले सुचना जारी गर्दै बचत फिर्ताका लागि आधिकारीक रुपमा दाबी पेस गरेका रत्ननगरका बचतकर्ताले १५ दिन भित्र कार्यालयमा निवेदन पेश गर्न अनुरोध गरिएको छ ।

नगरपालिकाले जारी गरेको सुचनामा ‘गार्डेन मार्टमा रहेका सामानहरु लिई बचत दावी फिर्ता गर्न चाहेमा १५ दिन भित्र निवेदन दिनु भनी गोरखापत्र दैनिकमा मिति २०८१।०३।३० मा प्रकाशित सूचना अनुसार निवेदन संकलन कार्यमा सहयोग गरि दिनु भनी अनुरोध भइ आएको छ । बचत फिर्ताका लागि आधिकारीक रुपमा दाबी पेस गरेका रत्ननगर नगरवासीहरुले उक्त तोकिएको अबधी भित्र यस कार्यालयमा निवेदन पेश गर्नु हुन जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’ नगरपालिकामा बिहीबार सम्म १२ जना बचतकर्ताले निवेदन दिएको सहकारी शाखाका अधिकृत अर्जुन पंगेनीले जानकारी दिए । उनले बढीमा एक लाख सम्म बचत रकम भएका साना बचतकर्ताहरुले निवेदन दिन सक्ने बताए ।

कौशलटारमा केन्द्रीय कार्यालय रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था र विराटनगरको तुलसी बहुमुखी सहकारी संस्थालाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत भदौ २५ मा समस्याग्रस्त घोषणा गरेको थियो। पक्राउ गरिएका सञ्चालक समिति पदाधिकारी थुनामा छन्।

दुवै सहकारी संस्थाको लगानीमा देशका विभिन्न स्थानमा गार्डेन मार्ट सञ्चालनमा थिए। सहकारी ऐन, २०७४ को परिच्छेद १८ को दफा १०६ को खण्ड (ज) बमोजिम सहकारी संस्थाको सम्पत्ति बेचबिखन, व्यवस्थापन गर्ने क्षेत्राधिकार आफूसँग रहेको भन्दै समस्याग्रस्त सहकारी व्यवस्थापनको कार्यालयले सूचना जारी गरेको हो।

शिवशिखरका १७ र तुलसी सहकारीका चार ठाउँमा गार्डेन मार्ट छन्। शिवशिखरको काठमाडौं, भक्तपुर, कीर्तिपुर, बागलुङ, पोखरा, सुर्खेत, बाँके, दाङ, कञ्चनपुर, डडेल्धुरा, चितवन र रुपन्देहीमा मार्ट रहेको छ।