भरतपुर अस्पतालमा सेवाग्राहीहरुलाई राहत, ३ ओपिडी काउण्टर थपियो

July 9, 2024 3:27 pm

चितवन : भरतपुर अस्पतालमा पछिल्लो समय बिरामीको चाप बढ्दै जादा ओपिडी काउण्टर थप गरिएको छ । अस्पतालले ५ वटाबाट बढाएर ८ वटा ओपिडी काउण्टर बनाएको हो । अस्पतालका मेसु प्रा.डा कृष्णप्रसाद पौडेलले बिरामीको भिड भयो भन्ने गुनासोलाई मध्यनजर गर्दै ३ वटा काउण्टर थप गरिएको जानकारी दिनुभयो ।

‘ बिहान ५ बजेनै टिकट काट्न बिरामीहरू आएको देखिन्छ जुन आवश्यक छैन। ’ उहाँले भन्नुभयो, ‘भरतपुर अस्पतालमा ओपिडीको टिकट काट्न अबदेखि १०–१५ मिनेट मात्र समय लाग्नेछ ।’ ओपिडीको अनलाइन ‘टिकेटिङ’को सुविधा भएपनि हाललाई बिमातर्फ केही समय स्थगित गरिएको उहाँले उल्लेख गर्नुभयो ।

जिओपिडी बिहान ८ बजेदेखि बेलुकि ५ बजेसम्म दुई सिफ्टमा सञ्चालित छन । डेन्टल ओपिडी ९ः३० देखि बेलुकी ५ सम्म र अन्य ९ः३० देखि ३ बजेसम्म सञ्चालित छन् । एक बजेपछि विशेषज्ञ चिकित्सकहरूलाई रू पाँच सयको टिकट काटि ‘पेईङ’मा देखाउन सकिने समेत उहाँले बताउनुभयो ।

‘बिमाको औषधि थप्न बिहान ७ बजे नै खुल्ने गरि रिफिल काउण्टरको व्यवस्था छ । टिकट काउण्टरहरू अपाङ्गता भएका;७० काटेका जेष्ठ नागरिक; महिला÷गर्भवती; जिओपिडी; मेडिकल ओपिडी; अर्थोपेडिक; सर्जरीलाई छुट्टाछुट्टै ओपिडी काउण्टर रहनेछन्।’ मेसु पौडेलले भन्नुभयो । अस्पतालमा बिल काउण्टर ८ वटा सञ्चालित छन् । चितवन र यस वरपरका १२ जिल्लाका बिरामीहरुको भरोसाको केन्द्र रहेको भरतपुर अस्पतालमा दैनिक दुई देखि तीन हजार बिरामीले ओपिडी सेवा लिने गरेका छन् ।