रत्ननगर, जेठ २१ । चितवनमा हावाहुरी सहितको पानीले १२ करोड बढी मूल्य बराबरको केरा नष्ट गरेको छ । शुक्रबार र शनिबार आएको हावाहुरी सहितको पानीले जिल्लाका अधिकांश किसानहरुको केरा ढालेको छ । पश्चिम चितवनमा आंशिक क्षति भए पनि पूर्वी चितवनमा भने ९० प्रतिशतभन्दा बढी केराका बोटहरु ढलेका छन् । चितवन केरा उत्पादक संघले जिल्लामा हावाहुरीले १२ करोड बढीको केरा नष्ट गरेको प्रारम्भिक अनुमान गरेको छ । एउटै किसानको २३ बिघामा लगाएको केरा पूरै नष्ट भएको छ । संघले जिल्लामा केरा बगानमा भएको क्षति अहिलेसम्मकै ठूलो भएको बताएको छ । बजारमा पठाउन तयारी भइसकेको केरा ढलेपछि किसानहरु अत्तालिएका छन् । व्यावसायिक केराखेतीका लागि करोडौँ लगानी गरेका किसानहरु विस्थापित हुने गरी क्षति भएको छ ।
खैरहनी वडा नं–६, तुलसीपुरमा रहेको पूर्णिमा केरा बगानमा तयारी अवस्थामा रहेका सबै केरा ढलेर नष्ट भएको छ । बगानका सञ्चालक पुष्कर सिंहले बगानमा रहेका १८ हजार केराको बोट नष्ट भएको बताए । ‘७० लाखको क्षति भएको छ’, उनले भने, ‘बगानमा नफलेको बोट नै थिएन ।’ ११ बिघामा केरा लगाउन उनले ४५ लाख लगानी गरेका थिए । केरा बेचेर बैंकमा रहेको २० लाख ऋण तिर्ने उनको सपना हावाहुरीले उडाइदिएको छ । ‘सोच्दै नसोचेको बज्रपात भयो’, उनले भने, ‘अब ढलेका बोटहरु हटाएर बारी सफा गर्न १० देखि १२ लाख खर्च हुन्छ ।’ खैरहनी र रत्ननगरमा गरी २३ बिघामा केराखेती गरेका कपिल ढकाल अहिले मर्माहत भएका छन् । एकता केरा फार्मका सञ्चालक ढकालको हावाहुरीले ४५ हजार बोट नष्ट गरिदियो । दुई दिन आएको असिनापानीसहितको हावाहुरीले बगानमा रहेको २ करोड ५२ लाख मूल्यबराबरको केराखेती नष्ट गरेको ढकालले बताए । ‘हावाहुरीले उठ्नै नसक्ने गरी डुबायो’, उनले भने, ‘लगानी सबै खेर गयो ।’ ढकालले जग्गा भाडामा लिएर ठूलो परिमाणमा केराखेती गरेको बताए ।
रत्ननगर वडा नं–५, झुवानीमा शिवकान्त न्यौपानेले १५ बिघामा लगाएको केराखेती हावाहुरीले नष्ट गरेको छ । ‘एउटा बोट काम लाग्ने अवस्थामा छैन’, उनले भने, ‘यस्तो विपत्ति कहिल्यै भोग्नु परेको थिएन ।’ आफ्नो केरा बगानमा रहेको करिब एक करोडबराबरको केरा नष्ट भएको उनले बताए । चितवन केरा उत्पादक संघका अध्यक्षसमेत रहेका व्यावसायिक किसान माधवप्रसाद घिमिरेको ५ बिघा दुई कठ्ठा क्षेत्रफलमा रहेको केरा पूरै नष्ट भएको छ । ‘८ हजार २०० बोट काम नलाग्ने गरी ढले’, उनले भने, ‘३५ लाख बढीको क्षति भयो ।’
चितवनका किसानहरुले केराखेतीको बिमा गरेका छन् । अहिले हावाहुरीले गरेको क्षतिको प्रकृति हेर्दा बिमा गरेबापत आउने रकमले लगानी उठ्ने सम्भावना नदेखिएको चितवन केरा उत्पादक संघका महासचिव जनकराज पन्तले बताए । जिल्लामा एक हजार ५०० बिघा केराखेतीको मात्र बिमा गरिएको छ । चितवनमा ७१२ जना किसानले ५ हजार ५०० बिघामा व्यावसायिक केराखेती गरिरहेका छन् । खेती गरिएको जग्गाको क्षेत्रफल र बिमा गरिएको क्षेत्रफल हेर्दा ४५ प्रतिशत केराखेतीको मात्र बिमा गरिएको छ । बिमा नगरेका किसानहरुको भने शतप्रतिशत लगानी डुबेको छ । बिमा कम्पनीले पूर्णरुपमा क्षति भएको खण्डमा प्रतिबोट २४४ रूपैयाँ दिन्छ । किसानको खेतबाट काँचो केरा प्रतिघारी ६०० रुपैयामा बिक्री हुने गरेको छ । ‘बिमा कम्पनीले क्षतिबापत दिने रकम केराको बजार मूल्यलाई हेर्दा जम्मा ४५ प्रतिशतमात्रै हो’, संघका महासचिव पन्तले भने, ‘खेतमै केरा नष्ट हुँदा बिमा रकम पाउँदासमेत ५५ प्रतिशत घाटा व्यहोर्नुपर्ने हुन्छ ।’
जिल्लामा वार्षिक ८० हजार मेट्रिक टन अर्थात् २ अर्ब ५० करोडको केरा उत्पादन हुँदै आएको छ । यहाँका किसानहरुले बिमा कम्पनीहरुबाट गत वर्षको भुक्तानीसमेत पाएका छैनन् । बिमा कम्पनीले जिल्लाका किसानहरुलाई दिनुपर्ने दुई करोड ५० लाख रूपैयाँ रोकेका छन् ।