बजार बिक्री प्रतिनिधी संघद्वारा मानवसेवा आश्रममा भोजन

May 31, 2024 12:23 pm

चितवन, जेठ १८ । 

नेपाल बजार बिक्री प्रतिनिधि सङ्घ नारायणी क्षेत्रीय समितिले मानवसेवा आश्रम भरतपुरमा आश्रीतलाई भोजन गराएर आफ्नो २३ औं स्थापना दिवस मनाएको छ । संघले बिहीबार आश्रममा आश्रीत ७० जनालाई भोजन गराएर स्थापना दिवस मनाएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी संघका केन्द्रिय महासचिव रमेश नेपालले युवाहरू केही न केही तरिकाबाट समाजलाई सकारात्मक परिवर्तन गर्नको लागि बाटोमा हिँड्ने अलपत्र अवस्थामा परेका मानिसहरूको सेवामा तल्लिन हुनको लागि पनि आश्रमले प्रेरित गरेको बताए ।

संस्थालाई समुदायमा स्थापित गर्नको लागि र समुदायमा संस्थालाई चिनाउनको लागि संघको भोजन सेवा अर्पण कार्यक्रमले सकारात्मक उदाहरण प्रस्तुत गरेको सेवा आश्रमकी महासचिव सुशीला केसीले बताइन । कार्यक्रममा संघका अध्यक्ष छ्न्दराज अर्यालले आगामी दिनमा मानवीय सेवामा समर्पित भई मानव सेवा आश्रमलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

भोजन सेवा अर्पण कार्यक्रममा विशिष्ट अतिथिमा केन्द्रीय अर्थसचिव राजन अधिकारी,मानव सेवा आश्रमका केन्द्रीय महासचिव सुशीला केसी,केन्द्रिय सल्लाहकार समिती सदस्य किरण अधिकारी, क्षेत्रीय समिती उपाध्यक्ष सुदिप अर्याल लगायत को उपस्थिती रहेको थियो । संघका अध्यक्ष छन्दराज अर्यालको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष सुदिप अर्यालले राखेका थिए । कार्यक्रम नारायणी क्षेत्रीय समितिका सहसचिव रामु पौडेलले सञ्चालन गरेका थिए ।