जेठ १६, भरतपुर ।
आदर्श नारी विकास केन्द्र आजबाट ३३ बर्षमा प्रवेश गरेको छ । महिलाहरुमा अन्तरनिहित शक्तिको सबैले कदर गरौ भन्ने मुल मन्त्रका साथ २०४९ सालमा स्थापित यस संस्थाले स्थापनाको ३३ बर्ष प्रवेशको अवसरमा आज आदर्शसंग साहित्य कार्यक्रम सम्पन्न गर्यो । संस्थाको स्थापना दिवस एवं छैठौ महिला अधिकार दिवसको अवसर पारेर गरिएको कार्यक्रममा दर्जन बढी साहित्यकार तथा कविहरुले आफ्नो रचना बाचन गरेका छन् । अधिकाशंका रचनामा पितृसत्ताले समाजमा जरो गाडेकाले महिलाहरु निरिह बनाइने गरिएको र नारीहरु परिवार तथा समाजबाट नै असुरक्षित भएको उल्लेख थियो । संस्थाका संस्थापक एवं निवर्तमान अध्यक्ष मीना खरलेले साहित्यका माध्यमबाट समाजमा रुपान्तरण एवं जागरण ल्याउने उद्धेश्यले कार्यक्रम गरिएको बताउनुभयो । उहाँले अहिले समाजमा आपराधिक क्रियाकलापहरु र महिला माथिको हिंसाको घटना बढ्दै गएको भन्दै यसका न्युनिकरणमा साहित्कारहरु पनि लाग्नुपर्नेमा जोड दिनुभयो । संस्कार संस्कृति र नैतिक शिक्षा अहिलेको आवश्यकता भएको उहाँको भनाई छ ।
चितवन साहित्य परिषद्का पुर्व अध्यक्ष साहित्यकार एवं सहप्राध्यापक गायत्री श्रेष्ठले महिलाहरुको हक अधिकारका लागि लड्ने मीना खरेललाई आफुले सफल राजनीतिज्ञको रुपमा देख्न चाहेको भएपनि आदर्शमा आइपछि उनले राजेको बाटो नै उपयुक्त रहेछ भन्ने महसुस भएको बताउनुभयो । पछिल्लो समय घर परिवारबाटै छोरी हरु असुरक्षित भएको समाचारले दुखि बनाउको भन्दै उहाँले पछिल्लो पुस्तालाई नैतिक शिक्षाको खाँचो रहेको औल्याउनुभयो ।
भरतपुर महानगरपालिका वरिष्ठ महिला विकास अधिकृत शुशिला वाग्लेले आदर्श नारीले महिला तथा बालबालिकाको क्षेत्रमा पुर्याएको योगदानको उच्च मुल्याकंन गर्नुभयो । आदर्श नारी महिला बालबालिकाको अधिकार स्थापित गराउन ब्रान्ड नै भइसकेको छ उहाँले भन्नुभयो महिलाको पीडा सम्बोधन गर्न र ससक्तिकरण गर्नमा संस्थाको योगदान ठुलो छ । सुरुआती दिनमा आदर्शको कामको मुल्याकंन गर्र्दै संघीय सरकारले समेत सहकार्य गरेको यस संस्थाको योगदानलाई स्थानीय सरकारले पनि बुझेर सहयोग गर्नुपर्ने उहाँको भनाई थियो ।
पत्रकार तथा लेखक बसन्त पराजुलीले हिंसाप्रभावित दिदीबहिनीका सवाललाई साहित्यमार्फत बाहिर ल्याउनुपर्नेमा जोड दिनुभयो ।
संस्थाका अध्यक्ष उषा खरेल सुवेदीले आगामी दिनमा संस्थाको पहिचान र शाखलाई थप उचाईमा पुर्याउन सबैसंग हातेमालो गर्दै अगाडी बढ्ने बताउनुभयो । उहाँले संस्थापक अध्यक्ष सीता सापकोटा, सचिव मीना खरेल र सरिता केसीले लगायत २१ ज्नाको समुहले स्थापना गर्नुभएको संस्थाको नेतृत्व आप्mनो काधमा आएकोमा खुसी व्यक्त गर्दै उहाँहरुले गर्नुभएको योगदानको उच्च मुल्याकंन गर्नुभयो । कार्यक्रममा सामना पडाड, विद्या चिराग, राधा कोइराला, बालकृष्ण थपलिया, सरला जोशी, सुर्य प्रकाश कडेल, पविता पुरी,विदुर केसि लगायतले आफ्नो रचना बाचन गरेका थिए । यस्तै आदर्श गृहमा आश्रित छोरीहरु शोभा सुनार, रेनुका धमला, दीपा श्रेष्ठले पनि आफ्नो रचना प्रस्तुत गरेका थिए ।
सो अवसरमा नेपाल सरकारको नवौ तहमा बढुवा हुनुभएकी भरतपुर महानगरपालिका बरिष्ठ महिला विकास अधिकृत शुशिला वाग्ले साहित्यकार गायत्री श्रेष्ठ र संस्था स्थापना कालदेखि हालसम्म अनवरत संस्थामै रहेर सेवा गरिरहनुभएकी संंस्थापक मीना खरेललार्ई दोसल्ला ओडाएर सम्मान गरिएको थियो । यसैबीच संस्थाले आजै स्थापना दिवसको दिन दीप प्रज्वलन समेत गरेको छ । संस्थाको प्राङ्गगढमा भेला भएका आदर्श अभियन्ताहरुले स्थापना दिवसलाई दीप प्रज्वलन गरेर एक आपसमा शुभकामना साटासाट गरेका हुन् ।