रत्ननगर १३ का महिलालाई आधुनिक गहना बनाउने तालिम

May 27, 2024 7:45 pm

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १३ का महिलाहरुलाई उद्यमी बनाउन आधुनिक गहना बनाउने तालिम दिइएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा उद्यमशिल महिला समुह वडा समितिले आयोजना गरेको सो तालिममा ३५ जना महिलाहरुको सहभागिता रहेको थियो । तालिममा सहभागी महिलाहरुले खासगरी विवहामा बेहुलीले प्रयोग गर्ने आर्कषक गहना बनाउन सिकेका छन् ।

६ दिने तालिम सोमबार सकिएको छ । समापन कार्यक्रममा वडा अध्यक्ष पोटबहादुर घिमिरे, वडा सदस्य शारदा न्यौपाने, रत्नकुमारी श्रीमल र सचिव खगराज पराजुली सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । सो अबसरमा वडाध्यक्ष घिमिरेले वडाभित्रका महिलाहरुलाई उद्यमी बनाएर जीवन सहज बनाउने उद्देश्यले सीपमुलक तालिम आयोजना गरिएको बताए । आफुले सिकेको सीपलाई आर्थिक उपार्जनको आधार बनाउन महिलाहरुलाई उनले आग्रह गरे । उद्यमशिल महिला समुह रत्ननगरकी अध्यक्ष गीता सिंखडाले महिलाहरुलाई आयआर्जनसंग जोडेर जीविकोपार्जनको आधार तयार गर्न स्थानीय सरकारसंग सहकार्य गरी सीपमुलक तालिम, सामुहिक खेती गरिएको बताइन् ।

रत्ननगरका १६ वटै वडामा उद्यमशिल महिला समुह गठन गरी महिलाहरुलाई स्वरोजगार बनाउने गरी काम गरिएको उनको भनाई छ । तालिममा उद्यमशिल महिला समुह रत्ननगर ३ वडा समितिकी अध्यक्ष रुपा कट्टेलले गहना बनाउन सिकाएकी थिइन् । उद्यमशिल महिला समुह वडा नं १३ वडा समितिकी अध्यक्ष सीता खनालको अध्यक्षतामा भएको समापन कार्यक्रम कोषाध्यक्ष मिरा सापकोटा क्षेत्रीले सञ्चालन गरेकी थिइन् । कार्यक्रममा सहभागीको तर्फबाट रेखा दराईले मन्तव्य राखेकी थिइन् ।