रत्ननगरको खुल्ला ब्यायामशालामा नगरवासीको आकर्षण बढ्यो

April 1, 2024 8:38 pm

रत्ननगर, चैत १९ ।

पूर्वी चितवनको रत्ननगर नगरपालिकाले १६ वटै वडामा स्थापना गरेको खुला व्यायामशालामा नगरवासीको आकर्षण बढेको छ । नगरपालिकाले स्थापना गरेको व्यायामशालाहरू शारीरिक तन्दुरुस्ती कायम राख्नेहरूका लागि आकर्षक गन्तव्य बनेको छ । नगरपालिकाले ६९ लाखको लगानीमा सबै वडामा ब्यायामशाला संचालनमा ल्याएको नगर प्रमुख प्रलाद सापकोटाले जानकारी दिए । उनले सबै उमेर समुहलाई लक्षीत गरेर व्यायामशाला संचालनमा ल्याएको जानकारी दिए । १६ वटै वडामा खुल्ला व्यायामशाला निर्माण गरेपछि स्थानीय युवा तथा व्यायामप्रेमीहरूको आकर्षण बढेको सापकोटाको भनाई छ । व्यायामशाला स्थापना गरेको क्षेत्रमा घुमफिरसँगै कसरत गर्ने र व्यायाम गर्नेहरूको चाप बढ्दै गएको छ ।

पछिल्लो समय प्रायः सबै जना योगप्रति आकर्षित भइरहेको बेला घर नजिक स्थापना भएका यस्ता खुल्ला व्यायामशाला पुगेर तौल घटाउने, शारीरिक तथा मानसिक तन्दुरुस्ती कायम गर्नेहरूका लागि उपयुक्त बनेका छन् । रत्ननगर नगरपालिका खेलकुद विकास समिति संयोजक तथा वडा नम्बर ८ का वडाध्यक्ष कृष्ण चौधरीले वडामा रहेको खुला व्यायामशालाहरू शारीरिक मात्र होइन मानसिक तनाव कम गर्न निकै उपयोगी स्थानका रूपमा लोकप्रिय बन्दै गरेको बताए।उ नले खुला व्यायामशालाको निर्माण गरेपछि बिहान बेलुका व्यायाम गर्नेहरूको चाप बाक्लिँदै गएको जानकारी दिए ।

खुल्ला व्यायामशाला निर्माणपछि मोबाइलमा रमाउने बच्चाहरु अहिले अभिभावकसंगै व्यायामशालामा रमाउन थालेका छन् । कतिपयको बिहान र साँझको दैनिकी व्यायामशाला आउने र कसरत गर्नेमै वित्ने गरेको छ । व्यायामशालामा बालकदेखि वृद्धसम्मका हरेक उमेर समूहका मानिस आफू अनुकूल समय मिलाएर शारीरिक अभ्यास गर्न आउने गर्छन् ।