रत्ननगरमा महिला सशक्तिकरण र कानुनी सचेतना सम्बन्धी प्रशिक्षण

March 23, 2024 7:26 pm

रत्ननगर । रत्ननगरमा शनिबार महिला सशक्तिकरण तथा कानुनी सचेतना सम्बन्धी प्रशिक्षण कार्यक्रम गरिएको छ । रत्ननगर नगरपालिका वडा नं १० को आर्थिक सहयोगमा श्रीकृष्ण प्रणामी बाइजुराज महिला समिति जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा करिब ६० जना महिलाहरुको सहभागिता रहेको थियो ।

उद्घाटन कार्यक्रममा बाइजुराज महिला समितिकी अध्यक्ष शोभा ओली शर्माले महिलाहरुलाई कानुनी अधिकारबारे जानकारी तथा महिला सशक्तिकरण मार्फत समाज रुपान्तरणका लागि कार्यक्रम आयोजना गरिएको बताइन् । कार्यक्रममा अधिबक्ता फुलमाया रानाभाटले महिला हिंसा,न्यूनीकरणमा भएका प्रयास र कानुनी अधिकार तथा रत्ननगर नगरपालिकाकी महिला विकास अधिकृत दीपा घिमिरेले महिला सशक्तिकरणका विषयमा सहजीकरण गरेका थिए । सो वडाकी कार्यबहाक वडाध्यक्ष गोमा भण्डारीले महिला अधिकार स्थापित हुँदा समेत महिलाहरुले अबसर पाउन नसकेको बताइन् । ३३ प्रतिशतको लागि हारगुहार गर्नूपर्ने भन्दै उनले अहिले पनि महिलाले सजिलै अबसर पाउने अबस्था नहरेको बताइन् ।

बाइजुराज महिला समितिकी अध्यक्ष शोभा ओली शर्माको अध्यक्षतामा भएको कार्यक्रममा वडा सचिव सुरेन्द्र चौधरीले मन्तव्य राखेका थिए । बाइजुराज महिला समितिकी सचिव सम्झना अधिकारीले सञ्चालन गरेको सो कार्यक्रममा सदस्य पारु केसीले स्वागत मन्तव्य राखेकी थिइन् । उद्घाटन कार्यक्रममा वडा सदस्य पूर्णिमा नेपाली सहित टोल विकास संस्था तथा आमा समुहका अध्यक्ष तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो ।