सिसी टिभी फुटेज र सुसाईड नोटको हवाला दिंदै प्याब्सनले भन्यो शालिनको निधनलाई आत्महत्या

February 29, 2024 12:21 pm

रत्ननगर,फागुन १७ ।

संस्थागत विद्यालयहरुको छाता संगठन प्याब्सन चितवनले रत्ननगरको एकता शिशु निकेतनमा भएको घटनालाई आत्महत्या भनेको छ । सिसी टिभी फुटेज र सुसाईड नोटको हवाला दिंदै प्याब्सनले निकेतनकी विद्यार्थी सालिन पोख्रेलको निधनलाई आत्महत्या भनेको हो ।

प्याब्सनले बुधबार जारी गरेको विज्ञप्तीमा विद्यालयको छात्रावासमा बसेर अध्ययन गरेको, सिसिटिभी फुटेज र मृतक विद्यार्थी स्वयंको सुसाइड नोटले शिक्षकहरुको संलग्नता नदेखिएको भनिएको छ । ‘प्राचार्य, सहायक-प्राचार्य र होस्टल इन्चार्जलाई अनर्गल प्रचार गर्दै हत्या गरिएको भनि किटानी जाहेरी भएको र सञ्चार माध्यमहरुले समेत सबुत प्रमाण बिना समाचार सम्प्रेषण गरिएकोमा दुःख व्यक्त गर्दछ’ विज्ञप्तीमा भनिएको छ ।

साथै प्याब्सनले घटनाको छिटो भन्दा छिटो सत्यतथ्य पहिचान गर्न सम्बन्धित सबै पक्षसँग जोडदार माग गर्दै अनुसन्धानका लागि आवश्यक सहयोग गर्न तयार रहेको भनेको छ । ‘शैक्षिक सत्रको अन्तिम समयमा भएको यस दुःखद घटनाबाट विद्यालयको शैक्षिक वातावरण प्रभावित भएको, विद्यार्थीहरु परीक्षा तयारी लगायतका शैक्षिक गतिविधिहरुबाट बञ्चित हुनु परेको परिस्थितिमा विद्यालय सञ्चालनको उपयुक्त वातावरण मिलाइदिनु हुन स्थानीय प्रशासन, राजनैतिक दल, विद्यार्थी संघ, संगठन, अभिभावक संघ, लगायत सम्पूर्ण सरोकारवालाहरुसँग हार्दिक अपिल गर्दछौ’ विज्ञप्तीमा भनिएको छ ।

निकेतनमा कक्षा ८ मा अध्ययन गर्ने १४ बर्षीय सालिन पाेखरेल फागुन १२ गते हाेस्टेलकाे काेठामा मृत अवस्थामा भेटिएकी थिइन । पोखरेल होस्टेलको काेठाकाे सिलिङमा स्काउटकाे डाेरीमा झुण्डिएको अवस्थामा भेटिएकी हुन् । २ बर्ष अघि स्कुलमा भर्ना भएकी उनी हाेस्टेलमा बसेर शिक्षा आर्जन गर्दै आएकी थिइन् ।

यस्तो छ प्याब्सनको विज्ञप्ती :