रत्ननरका कृषकलाई प्राङ्गारिक मलको प्रयोग तथा विषादी न्यूनीकरण सम्बन्धि सचेतना

February 6, 2024 8:03 pm

रत्ननगर, माघ २३ । रत्ननगर वडा नं. ९ मा रहेको बालुवाटार कृषक समुहले वडा नं. ९ को साझेदारीमा कृषकहरुलाई खाद्य सुरक्षा, प्राङ्गारिक मलको प्रयोग र महत्व तथा विषादी न्यूनीकरण सम्बन्धि एकदिने सचेतना कार्यक्रम सञ्चालन गरेको छ । विगत केही वर्षदेखि बढ्दो विषादी प्रयोगलाई मध्यनजर गर्दै यसको प्रयोगलाई न्यूनिकरण गर्दै लैजान कृषक समुहले मंगलवार तालिम दिएको हो ।

तालिमका कार्यक्रम संयोजक बसन्त राना मगरले स्वस्थ जीवनशैली अहिलेको आवश्यकता भएपनि बदलिँदो परिवेशमा मानिसहरु चाहेर वा नचाहेर पनि विभिन्न विषादीयुक्त वस्तु प्रयोग गर्न बाध्य रहेको परिस्थितिमा यसलाई एकैपटकमा सुधार ल्याउन र विषादी न्यूनीकरण गर्न सम्भव नभएपनि विस्तारै यसबारेमा चेतना विस्तार गर्न कृषकहरुलाई सुरक्षित र समुचित विषादी प्रयोगबारे सचेतना कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । उक्त सचेतना कार्यक्रममा बोल्दै रत्ननगर वडा नं. ९ का वडा अध्यक्ष अनन्त अधिकारीले विषादी प्रयोग गरेका खाद्यान्न, फलफुल, तरकारी उपभोग गरेमा तत्काल असर नगरेतापनि विषादीले मानव स्वास्थ्यमा बिस्तारै असर गर्दै जाने बताए ।

उनले भने, ‘सकेसम्म विषादीको प्रयोग गर्दै नगरौं यदि गर्नै परेको खण्डमा विषदीको प्रकार पहिचान गरौं मात्र खाद्यान्न बालीमा प्रयोग गरौं ।’ अत्याधिक विषधीको प्रयोगले माटोको उर्वर शक्तिमा ह्रास आउँने भन्दै उनले किसानलाई सकेसम्म खेतबारीमा प्राङ्गारिक मल प्रयोग गर्न सुझाव दिए । तालिम कार्यक्रममा हाल चितवनमा विषादी प्रयोगको अवस्था के कस्तो छ, रासायनिक विषादीको विकल्पमा के कस्ता उपायहरु हुन्छन्, विषादीले स्वास्थ्यमा के कस्ता असर गर्दछ र आफ्नो परिवार र समुदायलाई यस विषयमा सचेत गराउन कृषकहरुले के कस्ता भूमिका खेल्नुपर्छ जस्ता विषयवस्तुहरु समेटिएका थिए ।

तालिममा सफा उर्जा प्रा.लिका प्रोडक्सन म्यानेजर रोशन के.सि ले प्राङ्गारिक मलको प्रयोग सम्बन्धि महत्व तथा उपयोगिता, रत्ननगर कृषि शाखाका प्राविधिक सहायक अंकित लुईटेलले विषदी न्यूनीकरण सम्बन्धि, कृषि तथा योग साधना विज्ञ लक्ष्मण घिमिरेले खान पिनका असर र कार्यक्रम संयोजक बसन्त राना मगरले फोहोर मैला व्यवस्थापन सम्बन्धि प्रशिक्षण दिएको तालिममा ८० जना कृषकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बालुवाटार कृषक समुहले मासिक रुपमा बचत गर्ने तथा सक्रिय रुपमा सहभागीता जनाईरहने आफ्ना ३ जना सदस्यहरुलाई सम्मान गरेको छ । पुष्पराज न्यौंपाने, शान्ति राना र सृजना थापालाई सम्मान गरेको कार्यक्रम संयोजक राना मगरले बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति चितवनकी सदस्य सविता चौधरी, बाघमारा वनका अध्यक्ष जीतु तामाङ, टिकौली बनकी कोषाध्यक्ष राधा सुवेदी, संस्थाकी उपाध्यक्ष करिष्मा सापकोटा लगाएतले मन्तव्य राखेका थिए । कृषक समुहका अध्यक्ष भिमनिधी तिवारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा नं. ९ का वडा सदस्य कमान सिंह चौधरी, सुष्मा खड्का बुढाथोकी, मृगकुञ्ज उपभोक्ता समितिकी सदस्य सरस्वती लामा, चित्रसेन वनकी सचिव रिता थापा, टिकौली बनकी सचिव शान्ति रिजाल लगाएतको सहभागिता रहेको थियो ।