चितवनमा फागुन १९ गते रोटरी मिनी म्याराथुन प्रतियोगिता हुने

February 5, 2024 8:44 pm

रत्ननगर । चितवनमा फागुन १९ गते महिला, पुरुप सहभागी रोटरी मिनी म्याराथुन प्रतियोगिता हुने भएको छ । रोटरी क्लव अफ रत्ननगरले आयोजना गरेको सो प्रतियोगितामा महिला र पुरुषको छुट्टाछुट्टै प्रतियोगिता हुने छ । म्याराथुनमा ४०० बढी धावकहरुले प्रतिस्पर्धा गर्ने छन् । रोटरी क्लवले सोमबार रत्ननगरमा पत्रकार सम्मेलनको आयोजना गरी मिनी म्याराथुन गर्नुको उद्देश्य र तयारीको बारेमा जानकारी दिएको हो । यस अघि रोटरीले सन २०१९ मा पहिलो संस्करणको मिनी म्याराथुन प्रतियोगिता गरेको थियो । फागुन १९ गते हुने मिनी म्याराथुन दोस्रो संस्करण हो । भरतपुर भ्रमण बर्ष र समग्र जिल्लाको पर्यटन विकासको लागि म्याराथुन प्रतियोगिता आयोजना गरिएको रोटरी क्लव अफ रत्ननगरका पूर्व अध्यक्ष तथा रोटरी मिनी म्याराथुन प्रतियोगिताका संयोजक विपिन पोखरेलले बताए । पुरुष धावकहरुलाई नारायणगढ देखि रत्ननगरको निपनी सम्म साढे १५ किलोमिटर र महिला धावकहरुलाई भरतपुरको सिमानादेखि रत्ननगरको निपनी सम्म पाँच किलोमिटर दुरी कायम गरिएको पोखरेलले बताए ।

कार्यक्रम नारायणी नदीको किनारमा उद्घाटन भएर रत्ननगरको निपनी स्थित होटर स्टार चितवनमा समापन गर्ने तयारी गरिएको प्रतियोगिताका संयोजक पोखरेलले जानकारी दिए । पुरुष तर्फ प्रथम हुनेलाई एकलाख नगद सहित प्रमाणपत्र र चाँदीको मेडल, द्धितीय हुनेलाई ५० हजार नगद सहित प्रमाणपत्र र चाँदीको मेडल, तृतीय हुनेलाई २५ हजार नगद सहित प्रमाणपत्र र चाँदीको मेडल, चौथो हुनेलाई १० हजार नगद सहित प्रमाणपत्र, पाँचौं हुनेलाई पाँच हजार नगद सहित प्रमाणपत्र, छैठौं देखि दसौं सम्म हुनेलाई तीन हजार नगद सहित प्रमाणपत्र र दुरी पुरा गर्ने चेपाङ समुदायका धावकहरुलाई जनही २ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिने रोटरी क्लव अफ रत्ननगरका अध्यक्ष हरिकुमार श्रेष्ठले जानकारी दिए । महिला तर्फ प्रथम हुनेलाई २० हजार नगद सहित प्रमाणपत्र र चाँदीको मेडल, द्धितीय हुनेलाई १० हजार नगद सहित प्रमाणपत्र र चाँदीको मेडल, तृतीय हुनेलाई ५ हजार नगद सहित प्रमाणपत्र र चाँदीको मेडल, चौथो हुनेलाई ३ हजार नगद सहित प्रमाणपत्र, पाँचौ हुनेलाई २ हजार ५०० नगद सहित प्रमाणपत्र, छैठौं देखि दसौं सम्म हुनेलाई २ हजार नगद सहित प्रमाणपत्र र दुरी पुरा गर्ने चेपाङ महिलालाई एक हजार नगद सहित प्रमाणपत्र प्रदान गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए । १५ किलोमिटरको दुरीमा हुने खुल्ला म्याराथुनमा राष्ट्रिय स्तरका धावकहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले सहभागिता जनाउने र सीमान्तकृत चेपाङ समुदायको प्रोत्सहानका लागि चेपाङ समुदायबाट प्रतिस्पर्धामा सहभागी गराउने योजना बनाइएको छ ।

रोटरी मिनी म्याराथुन प्रतियोगिता मार्फत समग्र जिल्लाको पर्यटन प्रर्वद्धन र जिल्लाको पहिचान गराउने उद्देश्य रहेको प्रतियोगिताका संयोजक पोखरेलले बताए । पत्रकार सम्मेलनमा रोटरीका असिस्टेन गर्भनर सुरेन्द्रनाथ रेग्मीले समाज रुपान्तरणको लागि रोटरीले अहिले सम्म गरेका कामहरुको बारेमा जानकारी गराएका थिए ।