श्रीकृष्ण प्रणामी मन्दिर टिकौलीमा ज्ञानमहायज्ञ सुरु 

November 27, 2023 6:27 pm

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १० स्थित श्रीकृष्ण प्रणामी मन्दिर टिकौलीमा श्रीमत्तारतम बाणी चर्चा पाठपारायण तथा श्रीमद्भागवत कथा प्रबचन एवम् धनधान्याचल ज्ञानमहायज्ञ सुरु भएको छ । मन्दिर परिसरमा आयोजित एक औपचारिक कार्यक्रमका बीच रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले ज्ञानमहायज्ञको उद्घाटन गरेका थिए ।

धर्मसंस्कृतिको संरक्षणसंगै गुरुकुलम र धर्मशालाको भवन निर्माणको लागि जग्गा खरिद गर्न आर्थिक संकलन गर्ने उद्देश्यले आयोजना गरिएको सो महायज्ञ मंसिर १७ गते सम्म सञ्चालन हुने छ । सो अबसरमा मेयर सापकोटाले रत्ननगरलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न स्थानीय सरकार तयार रहेको बताए । धर्मधाम जिरौना, गायत्री हरिहर मन्दिर, राममन्दिर र नगरभित्र रहेका गुम्वाहरुलाई जोडेर नगरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उनको भनाई छ ।

धर्मले मानिसलाई अनुसासित बनाउने भन्दै मेयर सापकोटाले धर्मले नै समाजलाई सही बाटोमा लैजाने विचार व्यक्त गरे । लामो इतिहास बोकेको सो मन्दिरको भौतिक पूर्वाधार निर्माण गरी धार्मिम पर्यटकीय स्थलको रुपमा विकास गर्न महायज्ञ आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लीलाराज सुवेदीले जानकारी दिए । पछिल्लो समय हिन्दुधर्म संकटमा परेको भन्दै उनले हिन्दुधर्म जोगाउन पनि महायज्ञ कोसेढुंगा सावित हुने बताए । ज्ञानमहायज्ञमा धर्मगुरु प्रमोद सुधाकरले कथाबाचन सुरु गरेका छन् ।

संस्कृतिक शिक्षालाई जोगाउन गुरुकुलम सञ्चालन तथा धार्मिक पर्यटनको विकासको लागि धर्मशाला निर्माण गर्ने योजना रहेको समितिका उपाध्यक्ष जगदिश बरालले जानकारी दिए । मुलुकको तेस्रो पर्यटकीय गन्तव्य सौराहाको निकटमा रहेको टिकौलीमा अबस्थित श्रीकृष्णप्रणामी मन्दिरलाई आर्कषक बनाएर धर्मशाला निर्माण गरी धार्मिक पर्यटकलाई भित्र्याउने योजना रहेको उनको भनाई छ ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लीलाराज सुवेदीको अध्यक्षतामा भएको सो कार्यक्रममा श्रीकृष्णप्रणामी युवा परिषद्का केन्द्रीय अध्यक्ष जगदिशचन्द्र शर्मा लगायतले मन्तव्य राखेका थिए । ज्ञानमहायज्ञ उद्घाटन हुनुपूर्व रत्ननगरमा शोभायात्रा निकालिएको प्रचारप्रसार समितिका संयोजक बालकृष्ण अम्गाईले जानकारी दिए ।