काठमाडौं: तिहार पर्वको महत्वपूर्ण संस्कृति अन्तर्गतको भैलो आज सुरु हुँदैछ । साँझको समयमा आज विशेष गरेर युवतीहरू समूह बनाई घरघरमा भैलो खेल्छन् । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो ।
भलो होस् भन्ने शब्द समयक्रममा अपभ्रंश भई भैलो हुन आएको मानिन्छ । आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ ।भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । भोलि देखि भने युवाहरुले देउसी खेल्नेछन ।