रत्ननगर । नारी जागरण केन्द्र रत्ननगरको २६औं बार्षिक साधारण सभा मंगलबार गरिएको छ । साधारण सभाको रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरेका थिए । कार्यक्रममा संस्थाकी अध्यक्ष विमला सुवेदी खनालले प्रस्तावित कार्यक्रम तथा बजेट, महासचिव सरस्वती लामाले कार्यप्रगति प्रतिवेदन र कोषाध्यक्ष विभा डल्लाकोटीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
केन्द्रकी अध्यक्ष खनालले नौं महिना अघि संस्थाको कार्यभार सम्हालेपछि छोरीशिक्षा अक्षयकोष स्थापना, सिलाइकटाई र आधुनिक गहना बनाउने तालिम लगायत सरसफाईका कार्यक्रम सञ्चालन गर्दै आएको बताइन् । कार्यक्रमका प्रमुख अतिथि मेयर सापकोटाले आत्मनिर्भर बन्न चाहने महिलाहरु समुह बनाएर आए ८० प्रतिशत सम्म अनुदान रकम उपलब्ध गराउने बताए । स्थानीय सरकारले अनुदानका कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्दै आएको भन्दै उनले विपन्न समुदायका महिलाहरुलाई प्राथमिकता दिने गरेको बताए ।
निर्वतमान उपमेयर विमला दुवाडीले विपन्न महिलाहरुको उत्थानका लागि केन्द्र स्थापना भएको भन्दै नगरपालिकाले सहयोग गर्नुपर्ने बताइन । सेवा नेपालकी अध्यक्ष पार्वती न्यौपानेले विपन्न समुदायका महिलाहरुलाई उत्पादनसंग जोडेर आत्मनिर्भर बनाउनु पर्नेमा जोड दिइन् । कार्यक्रममा सिलाईकटाई तालिम दिएका २१ जना महिलाहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको महासचिव लामाले जानकारी दिइन् ।
कार्यक्रममा केन्द्रकी पूर्व अध्यक्ष ज्वाला पुरी वन, कानुनी सल्लाहाकार कृष्णप्रसाद डोटेल, वडा नं १३ की वडा सदस्य शारदा न्यौपाने, नमुना टोल विकास संस्थाका अध्यक्ष मानबहादुर बयरकोटी, उद्यमशिल महिला समुह रत्ननगरकी अध्यक्ष गीता सिंखडा लगायतले मन्तव्य राखेका थिए । केन्द्रकी उपाध्उक्ष विष्णुकुमारी नेपालले सञ्चालन गरेको सो कार्यक्रम संस्थाकी अध्यक्ष खनालको अध्यक्षतामा भएको थियो । साधारण सभाको बन्द सत्रले अध्यक्ष,महासचिव र कोषाध्यक्षले प्रस्तुत गरेको तीन प्रतिवेदन सर्बसम्मत रुपमा पारित गरेको छ ।