टी-२० विश्वकप एसिया छनोट: नेपालको सुखद सुरुवात

October 30, 2023 6:40 pm

काठमाडौं । टी–२० विश्वकप एसिया छनोटमा नेपालले सुखद सुरुवात गरेको छ । सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरमाथि ८ विकेटको जित हात पारेको हो ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सिंगापुरले दिएको १ सय ४६ रनको लक्ष्य नेपालले कुशल भुर्तेलको अर्धशतकको मदतमा १६.३ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो ।

नेपालको जितमा कुशल भुर्तेलले ७४ रन योगदान गरे । यसैगरी आसिफ शेखले २७ रन बनाए । कप्तान रोहित पौडेल ३५ र कुशल मल्ल ६ रनमा अविजित रहे ।