काठमाडौँ । यस बर्षको बडादशैंको टिका लगाउने उत्तम साईत बिहान ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । समितिका अनुसार घटस्थापनादेखि पूजा–आराधना गरिएकी देवीलाई बिहान १०ः३७ बजे विसर्जन गरी ११ः०२ को साइतमा टीका लगाउन सकिनेछ । देवीको प्रसादका रूपमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्न सकिने समितिले जनाएको छ ।
नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।
दुर्गा पक्ष समेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा भनिन्छ ।