त्रिकोणात्मक क्रिकेट श्रृंखला, युएई विरुद्ध नेपाल ५ विकेटले विजयी

October 23, 2023 3:59 pm

काठमाडौं : त्रिकोणात्मक श्रृंखला अन्तर्गतको भर्खरै सम्पन्न आफ्नो चौथो खेलमा पनि नेपाल विजयी भएको छ । श्रृंखलामा नेपाल हाल सम्म अपराजित छ । टस जितेर बलिङ गरेको नेपालले युएईको ७ विकेट मात्र झार्न सफल भएको थियो । निर्धारित २० ओभरमा युएईले ७ विकेटको क्षतिमा १६४ रन बनाएको थियो । युएईको लागी व्रित्या अर्भिन्द र वासिद हमिदले समान ४५/४५ रन बनाए । आसिफ खानले १८ त्यस्तै खालिद शाहले १२ बनाए भने अन्य व्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन ।

बलिङ तर्फ नेपालका सोमपाल कामि तथा अभिनास बोहराले समान २/२ , गुलसन झा तथा करण केसीले समान १/१ विकेट लिए । करण केसी सर्वाधिक महंगा सावित हुँदा उनले ४ ओभरमा ५३ रन दिए त्यस्तै कुशल मल्ल सर्वाधिक किफायती सावित भए । कुशलले ४ ओभरमा मात्र १० रन दिए ।

१ सय ६५ रनको लक्ष्य पच्छाएको नेपालले १९.२ ओभरमा ५ विकेटको नोक्सानीमा लक्ष्य पुरा गर्यो । नेपालका लागी आसिफ शेखले सर्वाधिक ६२ रन बनाए । कप्तान रोहित पौडेलले ४७ तथा दिपेन्द्र सीङ ऎरिले मात्र १५ बलको सामना गर्दै अविजित ४० रन बनाए । ओपनर कुशल भुर्तेल १, सोमपाल कामि २ तथा कुशल मल्ल शुन्य रनमा आउट भए भने गुलसन झा १ रनमा अविजित रहे ।

युएईका लागी मोहम्मद जवादुल्लाले २ तथा आकिफ राजा त्यस्तै जहुर खानले समान १/१ विकेट लिए । नेपालले आगामी शुक्रबार फाइनल खेल्नेछ ।