इच्छाकामना आधारभूत अस्पताल सञ्चालनमा

October 20, 2023 10:26 pm

चितवन । चितवनको इच्छाकामना गाँउपालिकाले इच्छाकामना आधारभूत अस्पताल सञ्चालन ल्याएको छ । इच्छाकामना ४ स्थित १५ शैयाको अस्पतालले आज (शुक्रबार) बाट सेवा प्रारम्भ गरेको हो । अस्पतालको बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले एक कार्यक्रमकाबीच उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री जोशीले अस्पतालको सेवाबाट इच्छाकामनाका जनतासँगै तनहुँ, गोरखा र धादिङका सेवाग्राहीहरु पनि लाभान्वित हुने विश्वास व्यक्त गरे । जोशीले आधारभूत अस्पताललाई ट्रमा सेन्टरको रुपमा विस्तार गर्न आवश्यक रहेको औंल्याए । अस्पताल राजधानी जोड्ने राजमार्गसँगै जोडिएकोले यसलाई ट्रमा सेन्टरको रुपमा विस्तार गर्न सकिने उनको भनाइ थियो । यसका लागि प्रदेश सरकारले आवश्यक उपकरण र प्राविधिक जनशक्ति उपलब्ध गराउने समेत मन्त्री जोशीले बताए ।

अत्याधुनिक सेवासहितको अस्पतालको रुपमा बिकास गर्न मन्त्रालय सधैं तयार रहने उनको भनाइ थियो । अस्पतालले हुँदा खाने वर्गलाई स्वास्थ्यको पहुँचमा पुराउने समेत उनको विश्वास छ । मन्त्री जोशीले विपन्न, असहायलाई सहज, सुलभ र सरल स्वास्थ्य सेवा दिन आग्रह पनि गरे । इच्छाकामनास्थित दारेचोक स्वास्थ्यचौकीलाई आधारभूत अस्पतालको रुपमा नामाकरण गरी सेवा प्रारम्भ गरिएको हो । गाउँपालिकाको वडा नम्बर ४ मा अस्पतालको आफ्नै भवन निर्माणाधिन छ । तत्कालका लागि स्वास्थ्यचौकीलाई अस्पतालको रुपमा विस्तार गरिएको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताए ।

संघीय सरकारको १३ करोड बजेटमा अस्पतालको १५ शैयाको भवन निर्माण भइरहेको छ । २०८१ सम्म निर्माण सम्पन्न भएर आफ्नै भवनबाट सेवा दिईने उनले जानकारी दिए । भवन निर्माणपछि सेवा थप विस्तारको योजना रहेको उनले सुनाए । हाल अस्पताल सञ्चचालनका लागि प्रदेश सरकारले १३ लाख रुपैयाँ उपलब्ध गराएको समेत उनले बताए । अस्पतालमा २ चिकित्सकसहित १५ स्वास्थ्यकर्मीले सेवा दिईरहेका छन् ।