त्रिकोणात्मक सिरिज: युएईमाथि नेपालको सहज जित

October 18, 2023 9:42 pm

काठमाडौं । त्रिदेशीय टी-२० सिरिजमा नेपालले विजयी सुरूवात गरेको छ। बुधबार मुलपानी मैदानमा नेपालले युएईमाथि ७ विकेटको जित हात पारेको हो। युएईले दिएको १४१ रनको लक्ष्य नेपालले १८.५ ओभरमा पूरा गर्‍यो। नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले अविजित ५१ रन र दीपेन्द्रसिंह ऐरीले अविजित ३४ रन बनाए। रोहितले ४० बलमा ५ चौका र दीपेन्द्रले २३ बलमा ३ चौका र १ छक्का हिर्काए। नेपालका ओपनर कुशल भुर्तेल १४ रनमा आउट भएका थिए। अर्का ओपनर आसिफ शेखले २३ रनको योगदान दिँदा कुशल मल्ल ११ रन जोडेर आउट भए।

त्यसअघि नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ७ विकेटको क्षतिमा १४० रन जोड्यो। युएईका लागि बासिल हमीदले अर्धशतक प्रहार गरे। उनले ५१ रन जोडे। अभिनास बोहराको बलमा आउट हुनुअघि उनले ३८ बलमा १ चौका र ४ छक्का प्रहार गरे।

त्यसअघि युएईका ओपनर खालिद शाहलाई सोमपाल कामीले पहिलो ओभरमै शून्यमा रोहित पौडेलबाट क्याच गराए। चौथो ओभरमा करण केसीको बलमा अलिसान शाराफु ६ रनमा कुशल भुर्तेलबाट सामातिए। त्यसपछि गुल्सन झाले दुई विकेट लिन सफल भए। उनले युएईका कप्तान मोहमद वासीमलाई १७ रनमा र असिफ खानलाई १५ रनमा आउट गरेका थिए।

बलिङमा नेपालका करण केसीले ३ विकेट लिए। उनले ४ ओभरमा १९ रन खर्चिए। यस्तै गुल्सन झाले २ विकेट लिए। उनले ३ ओभरमा ११ रन खर्चिए। अभिनास र सोमपाल कामीले १-१ विकेट लिन सफल भए। सिरिजमा नेपालले भोलि हङकङसँग खेल्नेछ।