रत्ननगरमा बजार अनुगमन : किरानामा म्याद गुज्रिएका सामाग्री

October 16, 2023 5:14 pm

रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका भित्र रहेका बजारहरुमा अनुगमन तीब्र पारिएको छ । रत्ननगर नगरपालिकाले चाडपर्वमा उपभोक्ता ठगिने सम्भावनालाई मध्यनजर गरी बजार अनुगमनलाई तीब्रता दिएका हो । बजार अनुगमन शाखाले बजारमा रहेका किराना पसल,मासु पसल र होटलहरुमा अनुगमन गरिरहेको छ । अनुगमनका क्रममा अधिकाँस किराना पसलमा म्याद गुज्रिएका सामाग्रीहरु भेटिएको बजार अनुगमन शाखाकी प्रमुख स्वस्तिका अर्यालले जानकारी दिइन् ।

दुई हप्तादेखि दैनिक रुपमा बजार अनुगमन गरिएको उनले जानकारी दिए । बजार अनुगमनका क्रममा खाद्य बस्तुको म्याद, होटल र पसल दर्ता तथा नविकरण, होटलको सरसफाई खानाको गुणस्तर लगायतका विषयमा अनुगमन गरिएको उनले बताइन् । राजश्व शाखा प्रमुख धर्मराज अधिकारीले कमजोरी भेटिएका होटल तथा पसलहरुमा सचेत गराउदै अखाद्य एवम् म्याद गुज्रिएका वस्तु भेटेमा जफत गरेर नष्ट गर्ने काम गरिरहेको बताए ।

बजार अनुगमनमा अनुगमन शाखाकी अधिकृत उर्मिला दाहाल, अनुगमन समितिका सदस्य दीपक थापा लगायत सम्बन्धित वडाका जनप्रतिनिधि तथा नगरप्रहरीहरुको सहभागिता रहेको छ ।