उज्जवल साकोसको साधारण सभा : १३८ असल ऋणि सम्मानित

September 23, 2023 5:20 pm

रत्ननगर । रत्ननगरमा रहेको उज्जवल महिला विकास बचत तथा ऋण सहकारी संस्था लि.को २३ औं बार्षिक साधारण सभा शनिबार गरिएको छ । साधारण सभाको प्रदेश सांसद तथा पूर्वमन्त्री कृष्णप्रसाद खनालले एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरेका थिए । कार्यक्रममा संस्थाकी अध्यक्ष सम्झना घिमिरेले संस्थाको नीति तथा कार्यक्रममा,कोषाध्यक्ष रन्जना अधिकारीले आर्थिक प्रतिबेदन तथा लेखा समिति संयोजक जानकी अर्यालले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेको संस्थाकी व्यवस्थापक हेमा अधिकारीले जानकारी दिइन् ।

कार्यक्रममा १३८ जना असल ऋणि सहित ज्येष्ठ शेयर सदस्य मायादेवी श्रेष्ठ,उत्कृष्ट बचतकर्ता इन्दिरा अधिकारी,उत्कृष्ट बाल बचतकर्ताहरु एजुन महतो र आदित्य महतो, दैनिक बचतकर्ता तारा पौडेललाई सम्मान गरिएको छ । संस्थाकी अध्यक्ष सम्झना घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका पूर्व अध्यक्षहरु भागिरथी चौधरी र शरलाकुमारी रेग्मी, राष्ट्रिय सहकारी बैंकका कार्यालय प्रमुख नरेश कामती, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ क्षेत्रीय कार्यालय टाँडीका शाखा प्रमुख केदारनाथ अधिकारी, जिल्ला सहकारी संघकी सञ्चालक शुशीला उप्रेती लगायतले मन्तव्य राखेका थिए ।

सचिव अम्विका पुरीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष चन्द्रकुमारी चौधरीले स्वागत मन्तव्य राखेकी थिइन् । २०५८ सालमा स्थापना भएको सो सहकारीको कुल सम्पती ९ करोड रहेको छ । संस्थामा एक हजार ४०६ जना शेयर सदस्य रहेको व्यवस्थापक अधिकारीले जानकारी दिइन् । साधारण सभाको बन्दसत्रले उल्लेखित तीन प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।