रत्ननगर अस्पतालमा छोटुलालको उपचार सुरु

September 10, 2023 7:39 pm

भदौ २४, रत्ननगर । आर्थिक अभावका कारण तीन महिना देखि थलिएका छोटुलाल कुमालको बकुलहर रत्ननगर अस्पतालका उपचार सुरु भएको छ । रत्ननगर वडा नं ९ स्थित सुकुमबासी बस्तीमा बस्दै आएका कुमाल मृर्गाैलामा पत्थरी र एपेन्डीस रोगले ग्रसित छन् । रत्ननगर नगरपालिकाद्धारा सो अस्पतालमा स्थापना गरिएको विपन्न उपचार कोषबाट कुमालको उपचार सुरु गरिएको हो । कोषबाट पहिलो चरणमा नगरपालिकाले कुमालको उपचारको लागि २० हजार रूपैया प्रदान गरिएको छ । एउटा विरामीको उपचारको लागि १० हजार सम्म प्रदान गर्ने कार्यविधिका उल्लेख छ । तर नगरपालिकाले कुमालको उपचारको लागि २० हजार रुपैया प्रदान गरेको मेयर प्रलाद सापकोटाले बताए ।

कार्यपालिकाको बैठकमा निर्णय गर्ने गरि कुमालको तत्काल उपचार गर्नु पर्ने भएकाले २० हजार रूयैया प्रदान गरेको मेयर सापकोटाले बताए । हामीले छोटुलाल जस्ता विपन्नको उपचारको लागि कोष स्थापना गरेका हौ मेयर सापकोटाले भने उनको उपचारको लागि पैसा नपुगे थप गर्ने छौ । उनको उपचारको लागि अस्पतालमा सहजिकरणको लागि कार्यपालिका सदस्य राजेन्द्र हमालले काम गरेका छन् ।

उनको उपचारको लागि परीक्षण सुरु गरिएको छ । रगत परीक्षण,भिडियो एक्सरे,खुट्टाका एक्सरे, मृर्गाैलामा भएको पत्थरी तथा एपेन्डिसको परीक्षण सुरु गरिएको अस्पतालका मेसु मदन ज्ञावलीले बताए । सानै उमेर देखि स्थानीय इश्वरी प्रसाद लामिछानेको घरमा बस्दै आएका कुमाल विवाह गरेपछि ससुरालीमा बस्दै आएका थिए । एक श्रीमती र छोराछोरीका मियो कुमाल ससुरालीको पालीमा जेनतेन गरेर दिन विताउदै आएका छन् ।

रोगले गालेपछि उनले रिक्सा चलाउन सक्दैनन् । कमाउने उपाय नभएपछि उनले तीन महिना देखि गाउँघरमा मागेर गुजरा गर्दै आएका छन् । संचार माध्यमहरुमा उनको कारुणीक अबस्था बारे समाचार प्रकाशित भएपछि नगरपालिकाले उपचारमा सहयोग गरेको हो । यस अघि विहान बेलुका छाक टार्न समेत नसकेका छोटुलालको परिवारको लागि युवा समाजसेवी सुजन क्षेत्री, चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपिकिरण शर्मा र लोकदोहोरी प्रतिष्ठान चितवनका पूर्व अध्यक्ष टीकाराम लामिछाने खाद्यान्न सहयोग गरेका थिए ।

वडाध्यक्ष अनन्त अधिकारीले छोटुलालको परिवारका लागि आवास निर्माण गर्न जग्गा व्यवस्थापनमा समेत चासो देखाएका छन् । बोराले बेरेको पालीमा बस्दै आएका छोटुलालको परिवारको लागि ओत लाग्ने घर निर्माणको लागि सहयोगी दाताहरुको खोजी भइरहेको छ ।