दशनामी समाज रत्ननगरको शुभकामना आदानप्रदान

September 1, 2023 8:41 am

रत्ननगर । नेपाल दशनामी समाज रत्ननगर वडा नं–१ इकाइ समितिको आयोजनामा नवगठित कार्यसमितिका पदाधिकारीहरुलाई शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल दशनामी समाजका इकाइ अध्यक्ष तुलसी गिरीको अध्यक्षता एवं नेपाल दशनामी समाज जिल्ला कार्यसमिति चितवनका अध्यक्ष जीवलाल पुरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशिष्ट अतिथि पूर्वजिल्ला अध्यक्ष ईश्वर गिरी र कृष्ण पुरी रहेका थिए ।

कार्यक्रममा जिल्ला अध्यक्ष पुरीले रत्ननगरमा नेपाल दशनामी समाज गठन भएकोमा खुसी व्यक्त गर्दै सम्पूर्ण पदाधिकारीलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे । उनले संस्थाले समाजमा सामाजिक सद्भाव कायम राख्दै दशनामी समुदायको दुःखसुखमा संस्थाले हातेमालो गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

सो अवसरमा अध्यक्ष गिरीले दशनामी समुदायका दाजुभाइ दिदीबहिनीहरुलाई संगठित गरी सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न काम अगाडि बढाउँदै जाने प्रतिबद्धता व्यक्त गरे ।

उपाध्यक्ष मेघराज पुरीले स्वागत मन्तव्य राखेको कार्यक्रममा सचिव अम्बिका पुरीले कार्यक्रमको सञ्चालन गरेकी थिइन् । कार्यक्रममा संस्थाको हरेक महिनाको अन्तिम शनिबार नियमित बैठक बसी भावी कार्ययोजना निर्माण गरिने बताइएको छ ।