चितवन , ८ भदौ । खैरहनी नगरपालिका वडा नम्बर ८ र ६ को सिमानामा रहेको वुढी राप्ती खोला किनारमा वृक्षरोपण गरिएको छ ।
वुढी राप्ती खोलामा हालै मात्र खैरहनी नगरपालिकाले तटबन्धसहित ड्याक निर्माण गरेको थियोे । ड्याक सहित बाटो समेत खोलिएको स्थानमा सौन्दर्यीकरणको लागि वृक्षरोपण गरेको खैरहनी नगरपालिकाका नगर प्रमुख शशी कुमार खनियाले जानकारी दिए ।
खैरहनी नगरपालिकाको आयोजनामा स्थानीय संघसंस्थाका प्रतिनिधिहरु सहितको टोलिले ड्याक छेउमा गुलमोहर , निलमोहर (शिरीष), कल्की फुल, धुपि , कपुर लगायतको बिरुवा रोपिएको हो ।
खैरहनी नगरपालिककाले नगर गौरव योजनाको रुपमा वुढी राप्ती खोलामा तटबन्धन सहितको बाटो र उक्त खोलामा मोटरबोट संचालन गर्ने योजना लिएकोले खोला छेउमा सौन्दर्यकरण गर्ने उदेश्यले वृक्षरोपण गरिएको नगर प्रमुख खनियाले बताए ।
वृक्षरोपण गरेर मात्रै नहुने त्यसको संरक्षण गर्नु महत्वपूर्ण भएकोले वृक्षारोपणसंगै विरुवा जोगाउन वासले समेत बारिएको मेयर खनियाले बताए । खोलाको दुवैतर्फ करिब तिन सयवटा विरुवा रोपिएको छ । सो अवसरमा बोल्दै नगर प्रमुख खनियाँले नगरपालिकाले नगरभित्रको मुख्य मुख्य खोलामा तटबन्धन सहित त्यहाँ सौन्दर्यीकरणको अभियान नै संचालन गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले खोला छेउ फोहोर फाल्ने स्थल नभएर त्यसलाई रमणिय स्थलको रुपमा विकास गर्ने योजना अनरुुप जनप्रतिनिधिहरु लागेको बताए ।