कांग्रेस रत्ननगरको सम्मेलन : कार्यनीति तथा प्रतिबेदन पारित

August 22, 2023 6:31 pm

रत्ननगर । नेपाली कांग्रेस रत्ननगर नगर समितिको मंगलबार आयोजित नगर सम्मेलनले नीति तथा कार्यक्रम सहित महत्वपूर्ण प्रतिवेदन माथि छलफल गरि पारित गरिएको छ ।

केन्द्रीय सदस्य प्रदिप पौडेल प्रमुख अतिथि रहेको सो कार्यक्रममा भावि कार्यनीति, प्रगति तथा आर्थिक प्रतिवेदन पारित गरिएको छ । सम्मेलनले पार्टीलाई मजबुत बनाउन क्रियाशिल सदस्यता नविकरणलाई प्राथमिकता दिएर कार्यनीति तयार समेत गरेको छ । सम्मेलनमा नगर सचिव अनिता अर्यालले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष हरि लामिछानेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अबसरमा नेता पौडेलले पौडेलले पार्टी भित्रको रोग सिटामोलले निको नहुने बताएका छन् ।

रत्ननगर नगर समितिको सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै उनले पार्टी भित्रको रोग सिटामोलले निको नहुने भन्दै शल्यक्रिया गर्नुपर्ने बताए । पार्टी भित्रको असन्तुष्टि सबैभन्दा ठुलो रोग रहेको भन्दै उनले आफै भित्रको असन्तुष्टि अन्त्य नगरी अन्यपार्टीका मान्छे भित्र्याउने कुरा कल्पना पनि गर्न नसकिने बताए । उनले कम्युनिष्टहरुसंग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले आफै भित्रका असन्तुष्टि अन्त्य गर्न आवयक रहेको बताए । नेताको व्यवहार र गुठबन्दीले नेपाली काँग्रेस पार्टी भित्रै कमजोर रहेको भन्दै उनले देशैभर संगठन हुँदा पनि काँग्रेस कमजोर बनेको बताए ।

हामी व्यवहारमा चुक्यौ, अबसर दिने बेलामा चुक्यौ उनले भने नेतृत्व गर्न सकेनौं, पार्टीको नेता बन्न सकेनौं, गुठको नेता बन्यौ । कांगे्रस सत्तामा गएर पनि थु्रपै मान्छेलाई अबसर दिँदा पनि पार्टीप्रतिको आर्कषण नरहेको बताए । कार्यक्रममा रत्ननगरका मेयर समेत रहेका नगर सभापति प्रलाद सापकोटाले रत्ननगरमा ७० प्रतिशतले क्रियाशिल सदस्यता नविकरण गरेको भन्दै नगर अधिबेशन अगाबै यो संख्या बढाउने बताए । उनले पार्टीमा युवाहरुको आर्कषण बढ्दै गएको भन्दै क्रियाशिल सदस्यता नविकरणको काम नरोकिने स्पष्ट पारे ।

सम्मेलनमा जिल्ला सभापति राजेश्वर खनाल, निवर्तमान जिल्ला सभापति जितनारायण श्रेष्ठ, संविधान सभा सदस्य तथा पूर्व शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी, प्रदेश स्वास्थ्य मन्त्री उत्तम जोशी, जिल्ला उपसभापति राजिब न्यौपाने, पूर्व प्रदेश मन्त्री एवं महासमिति सदस्य मिलनबाबु श्रेष्ठ, महासमिति सदस्यद्वय उत्तम आचार्य र सरोज कुँवर, महाधिवेशन प्रतिनिधि सरस्वती पौडेल, पूर्व क्षेत्रीय सभापति नन्दराम कंडेल, वडा नं १३ का वडा सभापति टोमराज भट्टराई लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा उपसभापति अपिल अधिकारीले कार्यक्रमको औचित्य र उद्देश्य, अर्का सचिब तीर्थ सुवेदीले निति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नगर सभापति सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति कमलनाथ अधिकारीले स्वागत मन्तव्य राखेका थिए ।