रत्ननगर, भदौ ३ ।
रत्ननगरका सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्राहरुलाई सिर्जनात्मक सिकाइ प्रभावकारी बन्दै गएपछि शनिबारबाट छात्राहरुको संख्या बढाइएको छ । असार २३ गते बकुलहर माध्यमिक विद्यालयमा अध्ययनरत २४ जना छात्राहरुबाट सुरु भएको सिर्जनात्मक सिकाइ प्रभावकारी बनेपछी शनिबारबाट छात्राहरुको संख्या बढाइएको हो ।
सामाजिक रुपान्तरण अभियान नेपाल रत्ननगरको सहकार्यमा सामुदायिक स्रोत केन्द्र नेपालको सहयोगमा गरिएको सिर्जनात्मक सिकाइमा शनिबारबाट रत्ननगर १ निपनी स्थित ओम शान्ती राष्ट्रिय आधारभुत विद्यालयका २५ छात्राहरूलाई पनि सहभागी गराइएको सामाजिक रुपान्तरण अभियान नेपाल रत्ननगर सचिव अनिता अर्यालले जानकारी दिइन । उनले छात्राहरुको संख्या बढेपछी शनिबारबाटै २ सत्रमा सिर्जनात्मक विषयहरु सिकाइएको बताइन् ।
सामुदायिक स्रोत केन्द्रले रत्ननगर नगरपालिका कार्यालय परिसरमा स्थापना गरेको कन्टेनर पुस्तकालयमा हप्ताको एकदिन शनिबार सिकाइने सिर्जनात्मक सिकाइमा शनिबारबाट पहिलो सत्रमा बकुलहर मावीका २४ र दोस्रो सत्रमा ओम शान्तीका २५ जना छात्रालाई सहभागी गराइएको सिर्जनात्मक सिकाइको नेतृत्व गरेकी कुमरोज एकेडेमीकी प्राचार्य विपना ढकालले बताइन् । विद्यार्थीहरुमा अध्ययनप्रतिको रुची बढाउन सिर्जनात्मक सिकाइ आवश्यक रहेको भन्दै बालिकाहरुलाई अनुशासन र स्थानीय विषयहरुमा केन्द्रीत रहेर सिर्जनात्मक कुराहरु सिकाइएको ढकालले बताइन् ।
छात्राहरुलाई सिर्जनात्मक सिकाई प्रभावकारी भएकोमा उत्साहीत भएको बताउँदै आगामी दिनमा रत्ननगरका अन्य वडामा पनि कार्यक्रम अघी बढाउने योजना रहेको सामाजिक रुपान्तरण अभियान नेपाल रत्ननगरकी अध्यक्ष रिता काप्रीले जानकारी दिइन् ।

