रत्ननगर । रत्ननगर नगरपालिकामा चालु आर्थिक बर्षको १७ दिनमा पाँच जनामा डेँगु संक्रमण देखिएको छ । उक्त अबधिमा तीन जना पुरुष र दुई जनामा डेँगु संक्रमण पुष्टि भएको छ । पछिल्लो समय चितवनमा डेँगु संक्रमणको जोखिम बढ्दै गएको छ ।
जिल्लाका सातवटा पालिका मध्ये चार वटा पालिकामा चालु आर्थिक महिनाको १७ दिनमा ३४ जनामा डेँगु संक्रमण देखिदा रत्ननगरमा मात्रै पाँच जनामा संक्रमण पुष्टि भएको हो । माडी,कालिका र इच्छाकामनामा डेँगुका संक्रमित विरामी भेटिएका छैनन् । डेँगु संक्रमितको संख्या बढ्दै गएको भन्दै रत्ननगर नगरपालिकाले सचेत रहन नगरबासीहरुलाई आग्रह गरेको छ । राती सुत्दा झुल लगाएर सुत्न,घर आगन सरसफाई गर्न र पानी जम्न नदिन आग्रह गरिएको मेयर प्रलाद सापकोटाले बताए ।
रत्ननगरमा पाँच जना संक्रमित हुँदा भरतपुरमा ७ जना, खैरहनीमा ३ जना, राप्तीमा १ जना, ठेगाना खुल्न नसकेका ६ जना र अन्य जिल्लाबाट उपचारको लागि चितवन आएका १२ जना गरी ३४ जनामा डेँगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । यसैबीच रत्ननगर नगरपालिकाले आउदो शुक्रबार डेँगु नियन्त्रण सम्बन्धी सचेतना मुलक कार्यक्रमको आयोजना गरी लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान चलाउने तयारी गरेको छ ।
