रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिकाका संस्थापक मेयर नारायण वनलाई सामाजिक व्यक्तित्व सम्मान प्रदान गरिएको छ । लायन्स क्लव अफ रत्ननगर मिड नेपाल र लायन्स क्लव अफ रत्ननगर पिसले स्थापना दिबस तथा पद हस्तान्तरण समारोहमा उनलाई सो सम्मान प्रदान गरिएको हो । संस्थापक मेयर वनले रत्ननगरको विकासमा खेलेको भूमिको उच्च मुल्याङ्कन गर्दै सोमबार आयोजित एक औपचारिक कार्यक्रमका सम्मान गरिएको हो ।
२०५४ सालको स्थानीय निकायको निर्वाचनमा विजयी भएका वन रत्ननगरको पहिलो मेयर हुन । २०७४ सालको स्थानीय तहको निर्वाचनमा मेयर पदमा विजयी भएर उनले रत्ननगरलाई विकासको उचाइमा पु¥याउन सफल भएका थिए । दोस्रो पटक मेयर बनेका वनले सौराहाको पर्यटनसहित नगरको शिक्षा, स्वास्थ्य र विकास निर्माणमा उल्लेख्य सफलता हासिल गर्न सफल भएका थिए । संस्थापक मेयरसंगै वन बकुलहर रत्ननगर अस्पताल, रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था र रेडियो चितवनको संस्थापक अध्यक्ष समेत हुन ।
कार्यक्रममा लायन्स क्लवका डिष्ट्रिक गर्भनर आरएस महतोले संस्थापक मेयर वनलाई दोसल्ला तथा सम्मानपत्रले सम्मान गरेका थिए । सो अबसरमा मेयर वनले पदमा नहुँदा पनि समाजप्रतिको दायित्व जीवित रहेको भन्दै रत्ननगरको विकासमा सधै क्रियाशिल भएर लाग्ने बताए । कार्यक्रममा दुई वटा क्लवको पद हस्तान्तरण समेत गरिएको छ । लायन्स क्लव अफ रत्ननगर मिड नेपालका बर्ष २०२२/२३ का अध्यक्ष सुमन सुवेदीले बर्ष २०२३/२४ का अध्यक्ष शिबहरि भण्डारी र लायन्स क्लव अफ रत्ननगर पिसका बर्ष २०२२/२३ का अध्यक्ष केदार बहादुर अधिकारीले बर्ष २०२३/२४ का अध्यक्ष लेखानाथ बास्तोलालाई पद हस्तान्तरण गरेका थिए । कार्यक्रममा दुबै क्लवका २०२२/२३ का अध्यक्षद्धाय सुवेदी र अधिकारीले कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई अवार्ड प्रदान गरेका थिए ।
कार्यक्रममा लायन्स क्लवका पूर्वडिष्ट्रक गर्भनरहरु राजकुमार श्रेष्ठ, रामप्रसाद भट्ट लगायत डिष्ट्रिकका पदाधिकारीहरुको सहभागिता रहेको थियो । लायन्स क्लव अफ रत्ननगर पिसका संस्थापक अध्यक्ष कृष्णलाल श्रेष्ठले सञ्चालन गरेको सो कार्यक्रममा लायन्स क्लव अफ रत्ननगर मिड नेपालका संस्थापक अध्यक्ष सुरेशचन्द्र आचार्यले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा दुबै क्लवका पूर्वअध्यक्षहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।