रत्ननगर । नेपाली कांग्रेसका संस्थापक नेता तथा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको ४१ औं स्मृति दिवसको अवसरका शनिबार रत्ननगरमा वृक्षरोपण गरिएको छ । नेपाली कांग्रेस रत्ननगर नगर समितिले शनिबार नेपाल नमुना माध्यमिक विद्यालयको खेलमैदानमा वृक्षारोपण गरेको हो ।
वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाली कांग्रेस चितवन क्षेत्र नं. १ का महा समिति सदस्य उत्तम आचार्यले वी.पी.को योगदानको सबैले अनुसरण गर्नुपर्ने बताए । कोईरालाले प्रवद्र्धधन गरेको प्रजातान्त्रिक समाजवाद र मेलमिलापको नीति अहिले पनि सान्दर्भिक रहेको उनले बताए । राष्ट्रको रक्षा तथा राष्ट्रियताका लागि वी.पी.को विचार र आदर्शको राजनीतिलाई अगाल्नुपर्ने उनको भनाई छ ।
विपी कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याएका थिए । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्द्धक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । नेपाली कांग्रेसका संस्थापक कोइराला २०१५ सालको आमचुनावमा कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस रत्ननगरका सभापति प्रलाद सापकोटा, महा समिति सदस्य गीता देवकोटा, महाधिवेश प्रतिनिधि निता ढकाल र दिवाकर अर्याल, प्रदेश, क्षेत्र, नगर, वडाका सभापतिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम सञ्चालन नगरका सचिव तिर्थ राज सुवेदीले गरेका थिए ।