मौलाकाली केवलकारको इभिनिङ अफर : आधा सस्तोमा टिकट

July 17, 2023 8:25 pm

चितवन : मौलाकाली केवलकारले आफ्नो टिकटमा ५० प्रतिशत छुट सहित नयाँ अफर ल्याएको छ । यही साउन देखि लागू हुने गरी यो अफर ल्याएको कम्पनीले जनाएको छ । यस अफरअन्तर्गत प्रत्येक बुधबार दिउँसो २ बजेपछि केवलकारको टिकट काट्दा ५० प्रतिशत छुट दिइने केवलकारका स्टेशन मेनेजर सुरज पौडेलले बताए ।

हाल केवलकारको दुइतर्फी साधारण टिकट मूल्य ५५० रुपैयाँ कायम छ । यस अफरअन्तर्गत अब यात्रुहरुले २७५ रुपैयाँमै दुइतर्फी यात्रा गर्न पाउनेछन् । यो अफरले आमसर्वसाधारणलाई सस्तो मूल्यमा केवलकारमा यात्रा गर्ने अवसर मिल्नेछ, साथै दर्शनार्थीहरुलाई दिउँसो पनि मन्दिर जान प्रेरित गर्नेछ । यसबाट मौलाकालिका मन्दिर जाने दर्शनार्थीको संख्यामा पनि उल्लेख्य वृध्दि हुने अपेक्षा लिइएको छ ।

दिउसो गर्मीको समयमा दर्शनार्थीहरु मन्दिर कम जाने गरेकोमा यो अफरले केही हदसम्म दिउँसो मन्दिर जाने क्रम बढाउने हामीले विश्वास लिएका छौँ, केवलकारका स्टेशन मेनेजर पौडेल बताउँछन् । मौलाकालिका मन्दिरमा यसअघिका वर्षहरुको तुलनामा यो सिजनमा भक्तजनको संख्यामा उल्लेख्य वृध्दि भएको छ । धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाका अनुसार मौलाकाली केवलकार सञ्चालनमा आएपछि मन्दिरमा पूजाआजा गर्न आउने भक्तजनको संख्या करिब २५ प्रतिशतले बढेको छ ।

गर्मी, बर्खा , खेतीपातीलगायत विविध कारणले अघिल्ला वर्षहरुमा यो बेला मन्दिरमा निकै कम मात्रामा भक्तजन आउने गरेकोमा यसपालि यो बेमौसममा पनि उल्लेख्य भक्तजनको आगमन छ । धार्मिक तथा ऐतिहासिक महत्वको मौलाकालिका मन्दिर जाने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी गत वैशाख १ गतेदेखि सञ्चालनमा आएको मौलाकाली केवलकारले बिदाका दिन बाहेक बिहान ६ बजेदेखि भक्तजनहरुलाई सेवा दिँदै आएको छ । शनिबार र अन्य बिदाका दिनमा बिहान ५ः३० देखि केवलकार सञ्चालन हुने गरेको छ ।