
असार २२ । नेपालका स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले अर्को साताबाट सुरु हुने एसीसी इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएका छन् । सन्दीप र दीपेन्द्रले जुलाई २० देखि सुरु हुने फ्रेन्चाइज लिग ग्लोबल टी(ट्वान्टी क्यानडामा आबद्ध भएका छन् । सो लिगमा सहभागी हुन दुवै जना क्यानडा जाने भएकोले इमर्जिङ कप नखेल्ने भएका हुन् ।
दीपेन्द्रलाई मोन्ट्रियल टाइगर्सले ड्राफ्टमा किनेको हो । दीपेन्द्र पहिलो पहिलो पटक विदेशी लिग खेल्न लागेका हुन् । सन्दीप भने लगातार यस लिग खेल्दै आएका छन् । एसीयाका टेस्ट मान्यता प्राप्त पाँच टोलीका ए टिम तथा अन्य तीन टोलीले सहभागीता जनाउदै छन् । नेपालले १३ जुलाई देखि २३ जुलाईसम्म श्रीलंकामा इमर्जिङ कप खेल्दैछ ।
नेपालले एसीसी प्रिमियर कपको उपाधि विजेताको रुपमा इमर्जिङ कप खेल्न लागेको हो । उक्त प्रतियोगिताको उपविजेता युएई तथा तेस्रो भएको ओमान इमर्जिङ कप खेल्दै छन् । इमर्जिङ कपको समूह बी मा नेपाल, युएई, पाकिस्तान ए र भारत ए छन् । त्यस्तै समूह ए मा श्रीलंका ए, बंगलादेश ए, अफगानिस्तान ए र ओमान छन् ।
हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थानमा बनाउने छ । नेपालले १४ जुलाईमा पाकिस्तान ए सँग खेल्नेछ । नेपालले दोस्रो खेल १७ जुलाई मा भारत ए सँग खेल्नेछ । नेपालले १९ जुलाईमा युएईसँग खेल्नेछ ।
२१ जुलाईमा प्रतियोगिताको सेमिफाइनल खेल रहेको छ । २३ जुलाईमा प्रतियोगिताको फाइनल खेल हुनेछ । नेपालले केही दिनमा इमर्जिङ टिम्सको लागि अन्तिम टोली घोषणा गर्नेछ । नेपालले केहि युवा खेलाडीलाई मौका दिनसक्ने अनुमान गरिएको छ ।