रत्ननगरको टाँडी बजारमा खानेपानीको सार्वजनिक धारा उद्घाटन

July 3, 2023 7:35 pm

रत्ननगर । पूर्वी चितवन स्थित रत्ननगरको टाँडी बजारमा खानेपानीको सार्वजनिक धारा उद्घाटन गरिएको छ ।

लुम्विनी विकास बैंकले प्रदान गरेको फिल्टर राखेर रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले उक्त स्थानमा सार्वजनिक धारा उद्घाटन गरेको हो । संस्थाका अध्यक्ष माधव प्रसाद अर्याल र बैंकका टाँडी शाखा प्रबन्धक सन्तोष श्रेष्ठले खानेपानीको सार्वजनिक धारा उद्घाटन गरेका हुन ।

बैंकले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत स्थानीय जनता, बजारमा किनमेल गर्न आउने महानुभाव तथा यात्रीहरुलाई स्वच्छ पिउनेपानी उपलब्ध गराउने उद्देश्यले फिल्टर सहयोग गरिएको श्रेष्ठले बताए । रत्ननगर खानेपानीका अध्यक्ष अर्यालले भानुचोक, निपनीचोक, बकुलहरचोक, सौराहाचोक, टाँडीचोक र बेल्सीचोकमा सर्वजनिक धारा सञ्चालनमा रहेको जानकारी दिए ।

लुम्विनी बैंक र सिटिजन बैंकले एक एक वटा धारा जडानको लागि लगानी गरेको र बाँकी चारवटा धारा संस्थाकै लगानीमा सञ्चालनमा ल्याइएको कोषाध्यक्ष सरस्वती लामाले जानकारी दिइन् । टाँडीचोकमा आयोजित कार्यक्रममा खानेपानीका सञ्चालक समिति सदस्यहरु मीना श्रेष्ठ, शशीकला प्रधान, भरतमणि आचार्य र लेखा समिति संयोजक जीवन नगरकोटी लगायतको सहभागिता रहेको थियो ।