काठमाडौं : आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेपालले पहिलो जित निकालेको छ । मंगलबार जिम्बाब्वेको राजधानी हरारेस्थित तकसिंगा स्पोर्ट्स क्लबमा भएको आफ्नो दोस्रो खेलमा अमेरिकाविरुद्ध ६ विकेटको जित निकालेको हो ।
अमेरिकाले दिएको २०८ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा ४३ ओभरमा पूरा गर्यो । नेपालको जितमा भीम सार्कीले अर्धशतक प्रहार गरे । तेस्रो एकदिवसीय अर्धशतक प्रहार गरेका भीमले अविजित रहदै ७७ रन जोडे ।
यस्तै दीपेन्द्रसिंह ऐरीले अविजित ३९ रन जोडे । कप्तान रोहित पौडेल १६ रन र कुशल मल्ल १३ रनमा आउट भए । यस्तै आसिफ शेख १२ रनमा अमेरिकाका नेत्रभाल्करको एलबिडब्लूको धरापमा पर्दा कुशल भुर्तेल ३९ रनमा केन्जिगेबाट क्याच भए।
त्यसअघि जिम्बावेको राजधानी हरारेस्थित ताकासिंगा क्रिकेट क्लबमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको अमेरिका ४९ ओभरमा २०७ रनमा अलआउट भयो । बलिङमा नेपालका करण केसीले ४ विकेट लिए । गुल्सन झाले ३ विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले २ विकेट हात पारे ।
ललितनारायण राजवंशीले कसिलो बलिङ गर्ने क्रममा १० ओभरमा २० रन खर्चिदा १ विकेट लिए । यसअघि नेपाल पहिलो खेलमा जिम्बाब्वेसँग आठ विकेटले पराजित भएको थियो । यता, अमेरिका भने प्रतियोगिता पहिलो खेलमा वेस्ट इन्डिजसँग ३९ रनले पराजित भएको थियो । जितसँगै नेपालको सुपर सिक्समा पुग्ने सम्भावना जीवित बनेको छ।