विश्वकप छनाेट : नेपालको फितलो बलिङ, जिम्बावे ८ विकेटले विजयी

June 18, 2023 8:29 pm

काठमाण्डाै । आईसीसी एकदिवसीय विश्व कप क्रिकेटको छनोटमा नेपाली बलरहरुले फितलो प्रदर्शन गरेपछि नेपालले जिम्बावेसँग ८ विकेटको पराजय बेहोरेको छ । टस जितेर व्याटिङ गरेको नेपालले उत्कृष्ट सुरुवात गर्दै २ सय ९० रन बनाए पनि त्यो जितको लागी पर्याप्त भएन ।

नेपालले पहिलो विकेटको लागी १ सय ७१ रनको उत्कृष्ट साझेदारी गएको थियो । ओपनर द्वय कुशल भुर्तेल र आशिफ सेखले यो साझेदारी गरेका हुन् । भुर्तेल सतक बनाउन १ रनले चुके , उनि ९९ रनमा मसाकाद्जाको शिकार बने भने शेखले ६६ रन बनाए । नेपालका लागी कुशल मल्लले ४१ , कप्तान राेहित पाैडेलले ३१ , आरिफ सेखले १० त्यस्तै गुलसन झाले १३ रन बनाए । अन्य व्याटरहरुले दोहोरो अंकमा रन बनाउन नसक्दा नेपालले ८ विकेटको क्षतिमा २९० रन बनाएको थियो । आईसिसिको मान्यता प्राप्त खेलमा नेपालले बनाएको यो तेश्रो ठुलो अंक हो । बलिङतर्फ जिम्बावेका रिचार्ड नगारभाले ४ र वेलिङ्टन मस्कादाले २ विकेट लिए ।

नेपालले दिएकाे २ सय ९१ रनकाे लक्ष्य घरेलु टाेली जिम्बावेले ४४ ओभर १ बलमा मात्रै २ विकेट गुमाएर पुरा गर्यो । जिम्बावेका कप्तान क्रेग इरभाइन र सेन विलियम्सले शतक बनाए । इरभाइनले १ सय २१ र विलियम्सले १ सय २ रन बनाए । बलिङतर्फ साेमपाल कामी र गुलसन झाले १/१ विकेट लिए ।

विश्व कप छनोटमा नेपाल रहेको समूहमा जिम्बाब्वेसँगै वेस्ट इन्डिज, अमेरिका र नेदरल्याण्ड्स रहेका छन् । समूह ‘बी’ मा आयरल्यान्ड, श्रीलङ्का, यूएई, स्कटल्यान्ड र ओमान छन् । दुवै समूहका शीर्ष तीन टोली ’सुपर सिक्स’ मा पुग्नेछन् । ‘सुपर सिक्स’ मा अर्को समूहबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा हुनेछ । त्यसपछि शीर्ष दुई टोलीले आउँदो अक्टोबरमा हुने विश्व कपमा स्थान बनाउनेछन् ।